उदयपुरमा तीन दिनको अवधिमा लगातार तीन बालिका बलात्कृत भएको घटना सार्वजनिक भएका छन्। फागुन ५ देखिको लगातार तीनदिन यता बलात्कारको घटना सार्बजनिक भएका हुन् । तीन घटनामध्ये दुई बालिका गर्भवती भइसकेको अवस्था रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।प्रनाउ गौतमका अनुसार तीनै घटना नजिकको साइनो पर्ने आफन्तबाट बलात्कार भएका हुन् । झड्केली छोरी सौतेलो बाउबाट, भतिजिनी आप्mनै काकाबाट र साली आप्नै भेनाबाट बलात्कारमा परेको घटना बाहिर आएको हो । जिल्लाको बेलका नगरपालिकामा सौतेलो बाउबाट १४ वर्षीया झड्केली छोरी, उदयपुरगढी गाउँपालिकामा भेनाबाट १६ वर्षीया साली र त्रियुगा नगरपालिकामा काकाबाट ११ वर्षीया भतिजिनी बलात्कारमा परेका हुन् ।
यी तीन घटनामध्ये पटक–पटक बलात्कारको सिकार बनेका झड्केली छोरी र साली गर्भवतीको अवस्थामा छन् । एकजना चार महिना र अर्को जना सात महिनाको गर्भवती रहेको बुझिएको छ । तीनै घटनाका आरोपित पुरुषहरुलाई प्रहरीले पक्राउ गरी कारवाही अगाडी बढाएको जनाएको छ । प्रहरीले पिडित पक्षको उजुरीको आधारमा आरोपितहरुलाई पक्राउ गरेको जनाएको छ ।अनुसन्धानबाट तीनै घटना प्रलोभन र धम्की दिएर पटक–पटक बलात्कार भएको पाइएको प्रहरीको भनाई छ । यी घटनाबाट कलिलो उमेरका बालिकाहरु प्रलोभन र धम्कीमा परेर बलात्कारको सिकार हुने गरेको देखिएको छ ।
प्रनाउ गौतमका अनुसार झडकेली छोरीलाई गर्भवती बनाएर प्युठानबाट बेलका नगरपालिकामा ल्याएर लुकाईछुपाई राखेको अवस्थामा सौतेलो बाउ पक्राउ गरिएको र पटकपटक बलात्कार गरी गर्भवती बनाउने भेना फागुन ६ गते, भतिजिनी बलात्कार गर्ने काकालाई फागुन ५ गते गाउँबाट पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय रामपुरठोक्शिलाले पक्राउ गरेको सौतेलो बाउलाई कारवाहीका लागि प्याठान प्रहरीमा पठाइएको छ भने बाँकी दुईजनालाई जिल्ला प्रहरी कार्यालयबाट कारवाही अगाडी बढाइएको छ ।
बलात्कारका घटनाहरु लगातार सार्बजनिक भएपछि उदयपुरमा यस्ता घटना बढि भइरहेको संकेत गरेको छ । समाजमा गुपचुप हुन नसकेर सार्बजनिक भएका घटनाहरु मात्र प्रहरीसम्म आइपुग्ने गरेका छन् । यस्ता घटना प्रहरीमा उजुरी गर्नुभन्दा गाउँमै गुपचुप मिलाउने प्रयास अझै पनि ब्यप्त रहेको महिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुरकी संयोजक पम्फा पुरीले बताउनुभयो । समाजले बलात्कारमा परेका महिलाहरुमाथि गर्ने गलत दृष्टिकोण, पिडितको न्यायमा कमजोर पहुँच र न्यायिक प्रक्रियासमेत झन्जटिलो भएकाले पिडित आफैलेसमेत घटना बाहिर ल्याउन नचाहने गरेको पाइएको छ ।
गरिबी, अशिक्षा जस्ता कुराले अभिभावकबाट वालिकाहरुको राम्रो रेखदेख हुन नसक्दा, शिक्षा र चेतना दिन नसक्दा बालिका तथा किशोरीहरु जोखिममा रहेका छन् । सामाजिक सञ्जालमा बढ्दो अश्लिलता र पिडकले सजिलै उन्मुक्ती पाउने जस्ता कारणले पनि उनीहरु जोखिममा परेका छन् । यस्ता अपराधबाट समाजलाई मुक्त बनाउन सामाजिक अभियानता, सञ्चारकर्मी, प्रहरी, प्रशासन, राजनीतिक दल सबै पक्षले गम्भिरतापूर्वक लाग्नुपर्ने महिला मानवअधिकारकर्मी महेश्वरी राईले बताउनुभयो ।चालु आर्थिकवर्ष सुरुयता जिल्लामा २१ बलात्कारका घटना जिल्ला प्रहरीमा दर्ता भएका छन् । त्यसमध्ये १० वर्ष मुनी उमेरका दुई, १० देखि १८ वर्ष उमेर समुहका आठ र १८ वर्ष माथिका एघार वटा बलात्कारका घटना भएका छन् । त्यसमध्ये अधिकांश आफन्तबाट बलात्कारमा परेको प्रहरीले जनाएको छ ।