काठमाडौ । रिक्त १९ पदका लागि आज सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन भएको छ। दिउसो ३ वजे सम्मका लागि दिइएको मतदानको समय अब सकिएको छ । निर्वाचन आयोगले बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानका लागि समय दिइएको थियो। केही स्थानमा मतगणना समेत सुरु भएको छ ।मतदान गर्न लुम्बिनी प्रदेशका दुई मतदाता भने हेलिकप्टरमा मतदानस्थल पुगेका छन् । नवलपरासी प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष अन्जुकुमारी चौधरी र पाल्पा रामपुर नगरपालिकाकी उपमेयर विष्णुदेवी उपाध्याय हेलिकप्टरमा मतदान स्थल पुगेका हुन् । उनीहरु हेलिकप्टर चढेर मतदान गर्न दाङ पुगेका हुन् ।
उनीहरू दुबै जना ०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका थिए। बिरामी रहेका उनीहरूलाई हेलिकप्टरबाट मतदान स्थल ल्याइएको एक नेताले बताए। दुई जिल्लाका उनीहरूलाई लिन एकै हेलिकप्टर गएको थियो।
लुम्बिनीमा प्रदेश सभाका ८१ जनाले नै मतदान गरेका छन्। भने स्थानीय तहका २१५ मध्ये २१३ जनाले मतदान गरेका थिए। राप्रपाबाट निर्वाचित नेपालगञ्ज उपमहानगरका मेयर धवलशम्शेर राणा र राप्रपाकै अर्का एक मतदाता भने मतदानमा उपस्थित भएका थिएनन्।
राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको मतदानको प्रदेश सभा सदस्यको मतगणना सकिएको छ। तीन जना राष्ट्रिय सभा सदस्य छान्न ८१ प्रदेश सभा सदस्यले मत हालेका थिए। निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार अहिले प्रदेश सभा सदस्यको मतगणना सकिएको छ। जसमा सत्तारूढ गठबन्धनका उम्मेदवारका पक्षमा २१६० मतभार पुगेको छ भने नेकपा एमालेका उम्मेदवारका पक्षमा १७२८ मतभार छ। प्रदेश सभा सदस्यको मतभार ४८ हुन्छ।
राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो। राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी), कुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा) र युवराज शर्मा (कांग्रेस) उम्मेदवार हुन् भने एमालेले भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्तालाई उम्मदवार बनाएको छ। अब स्थानीय तहतर्फको २१३ मत गणना हुँदैछ। स्थानीय तहका मतदाताको मतभार १८ हुन्छ।