१२ माघ :- रसुवाको आमाछोदिङ्मो गाउँपालिका गोङगाङमा आज बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् । पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाइएको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै जना सडकमा ग्याविन वाल लगाउने काम गरिरहेका बताईएको छ । घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ । मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन ।
यस्तै , रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय २५ पुग्यो, रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय २५ पुगेको छ । मंगलबार ११ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको सङ्ख्या १ सय २५ पुगेको हो ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार कालिका गाउँपालिकामा ६५, गोसाइकुण्डमा २४, उत्तरगयामा ३०, नौकुण्डमा ५ र आमाछोदिङ्मिोमा १ जना संक्रमित रहेका छन् । सबै संक्रमित होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म १ हजार ४ सय ७० जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार ३ सय ४३ जना निको भएका छन् । जिल्लामा हालसम्म ५ हजार ८७ वटा स्वाव संकलन गरिएकोमा ३ हजार ६ सय १७ नेगेटिभ र १ हजार ४ सय ७० पोजेटिभ आएको थियो ।