पुष – विराटनरको नोबेल मेडिकल कलेज अगाडि विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका छन् । एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले आज कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् ।आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले प्रर्दशनमा उत्रियका हुन् । यसअघि विद्यार्थीहरुले नोबेल मेडिकल कलेजमा तोडफोड गरेका थिए ।
प्रदर्शनपछि विद्यार्थी संगठनका नेताहरुले अतिरिक्त शुल्क मिनाहा नगरेसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् । अनेरास्वीयू केन्द्रीय सचिवालय सदस्य भाष्कर खनालले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिने निर्णय फिर्ता गरेर विद्यार्थीलाई पठन पाठन गर्ने व्यवस्था गर्न माग गरेका छन् ।
यस्तै नेविसंघका नेता जसवन्त पौडेल, अनेरास्ववीयूका नेता निर्मल भण्डारी, अखिल क्रान्तिकारीका नेता उमेश सेन्चुरीले शुल्क फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने बताउनुभएको छ ।अखिल क्रान्तिकारी केन्द्रीय सदस्य अभिन्यू यादवका अनुसार नोबेलले लिने अतिरिक्त शुल्क फिर्ता नगरेसम्म विद्यार्थी संगठनहरुले आन्दोलनलाई निरन्तरता दिनेछन् । थप आन्दोलनको कार्यक्रमको तयारीका लागि विद्यार्थी संगठनहरुको बैठक बस्ने उहाँले बताउनुभयो ।
विराटनगरको नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क माग गरेको र नदिने विद्यार्थीलाई कक्षामा प्रवेश निषेध गरेको थियो ।विद्यार्थीले अतिरिक्त शुल्क लिने कलेजको निर्णयको विरोधमा प्रदर्शन गर्दै आइरहेका छन् ।