बुटवल, नेपाल ज्योतिष परिषद्को २४ औं स्थापना दिवसको अवसर पारेर जिल्ला कार्यसमिति रूपन्देहीले पनि पौष २४ गते शनिबार श्रीमद्भगवद्गीता वितरण तथा वृद्धवृद्धालाई संमान कार्यक्रम सम्पन्न गरेको छ । परिषद्का रूपन्देही अध्यक्ष चक्रपाणी डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रम श्रीङ्गेश्वर धाम डिङ्गरनगर ,तिलोत्तमा रूपन्देहीमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासंघ रूपन्देहीका उपाध्यक्ष प्राध्यापक डा. बाबुराम ज्ञवालीले श्रीमद्भगवत गीता सबै ग्रन्थको सार भएको बताउदै गीता ज्ञान सबैले अनुसरण गर्न आवश्यक रहेकोमा जोड दिनु भएको थियो । विशेष अतिथि परिषद्का लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन न्यौपानेले परिषद्का गतिविधि बारे प्रकाश पार्नु भएको थियोे । कार्यक्रम संयोजक एवं परिषद्का रूपन्देही सदस्य चुडामणि पाण्डेले गीता वितरण गर्नु भएको थियो । सो क्रममा पाण्डेले ” एक घर एक गीता सबैको निधारमा टीका ” भन्ने अभियानका साथमा आफुले विभिन्न ठाउँमा हजार भन्दा बढी गीता वितरण गरेको जानकारी दिनुभएको थियो । कार्यक्रममा बीसजना वृद्धवृद्धालाई संमान गरिएको थियोे ।
कार्यक्रममा परिषद्का लुम्बिनी प्रदेश कोषाध्यक्ष खिमप्रसाद पौडेल , शान्ति टोलविकास समितिका अध्यक्ष कपिल अधिकारी , श्रीङ्गेश्वर धामका कोषाध्यक्ष गणेशप्रसाद न्यौपाने , तान्त्रिक एवं साधक चुडामणि पाण्डे , इन्दप्रसाद न्यौपानेले बोल्दै परिषद्ले गरेको कार्यको प्रसम्सा गर्दै २४ औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो । परिषद्का रूपन्देही अध्यक्ष चक्रपाणी डुम्रेले कार्यक्रम उपस्थित सबैलाई धन्यवाद दिदै आगामी दिनहरूमा पनि यस्ता कार्य हरूलाई निरंतरता दिने प्रतिबद्धता जनाउनु भएको थियो ।
जिल्ला उपाध्यक्ष त्रिभुवन न्यौपानेको स्वागत एवं सहसचीव ज्ञानहरि अर्यलको संचालनमा सम्पन्न कार्यक्रममा परिषद्का कार्यसमिति सदस्य ,साधारण सदस्य ,लगाएत केन्द्रिय तथा प्रदेश पदाधिकारीहरू, ज्योतिषीहरू , पण्डितहरू , वृद्धवृद्धा एवं स्थानीय भक्तजन गरि सय जना बढीको सहभागिता रहेको जिल्ला सदस्य शेषनाथ पाध्यायले जानकारी दिनु भयो ।
(बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)