बाजुरा। बाजुरामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए। उनले दिएको जानकारीअनुसार नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे १ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खसेको छ।
गाडी चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए । मृतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने तयारी भइरहेको छ । दुर्घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ। बाजुरामा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको छ।
जिल्लामा एक हप्ता नपुग्दै सवारी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । वर्षामा बन्द भएका सडकहरू सुचारु भएपछि सडक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले बताए । उनले सवारी दुर्घटना कम गर्ने विषयमा बिहीबार जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको समेत बताए ।