काठमाडौ। अर्थशास्त्रका प्राध्यापक तथा राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाभले मंगलबार राति फेसबुकमा एउटा तस्बिर साझा गरे। तस्बिरमा फेद नजिकैबाटै हाँगा फैलिएर छहारी दिने बडेमानको रुख देखिन्छ।
उनका अनुसार झण्डै दुई सय वर्ष पुरानो यो रुख सिरहा जिल्लाको औरही गाउँपालिका–५ डा. राजेशचन्द्र दासको प्रांगणमा छ। लाभले त्यो भालसरीको रुख भएको उल्लेख गरेका छन्। भालसरी सदाबहार रुख हो, जुन दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र उत्तरी अस्ट्रेलियामा पाइन्छ।
यसको काठ मूल्यवान् मानिन्छ। भालसरीको फल खान सकिन्छ भने पारम्परिक औषधिका रुपमा पनि यसको प्रयोग हुने गर्छ। यसको फूल सेतो र फल पँहेलो हुन्छ। तर, यो रुखको परिचय यतिमै सीमित छैन। स्थानीय बासिन्दा नेपालको पुरानो राजनीतिक दल नेपाली कांग्रेसको चुनाव चिह्न यही रुखबाट प्रेरित भएको ठान्छन्।
जुन चुनाव चिह्न कांग्रेसले वि.सं. २०१५ देखि हालसम्मका निर्वाचनमा प्रयोग गर्दै आएको छ। नेपालको राजनीतिमा कांग्रेस भनेको रुख र रुख भनेको कांग्रेस भन्ने मान्यता नै स्थापित छ। प्राध्यापक लाभले कांग्रेसको चुनाव चिह्न डा. दासको औरहीस्थित घरको प्रांगणमा अवस्थित भालसरीको रुखबाट प्रेरित रहेको दाबी गरेका छन्।
‘यो सिरहा जिल्लाको औरही पालिका अन्तर्गत डा. राजेशचन्द्र दासजीको प्रांगणमा रहेको भालसरीको लगभग दुई सय वर्ष पुरानो रुख हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘पारिवारिक सूत्रअनुसार नेपाली कांग्रेसको रुख चिह्न यसै रुखबाट प्रेरित छ।’
जनकपुरको जानकी मेडिकल कलेजमा कार्यरत डा. दास आफ्नो घरको प्रांगणमा रहेको यही रुख हेरेर नै कांग्रेसले २०१५ सालमा पार्टीको चुनाव चिह्न बनाइएको दाबी गर्छन्। ‘हाम्रै आँगनछेउमा रहेको त्यही रुख हेरेर कांग्रेसका संस्थापक नेताहरुले पार्टीको चुनाव चिह्न बनाएको सुनेको हुँ, ’उनले भने, ‘रुखको फोटो र चुनाव चिह्न हेर्नोस् न, समान छ।’
सिरहाबाट कांग्रेसका समानुपातिक सांसद पद्मनारायण चौधरी पनि यो भनाइमा सहमत छन्। त्यही भालसरीको रुखको फेदमा बसेर कांग्रेसका संस्थापक नेताहरुले चुनाव चिह्नको परिकल्पना गरेको उनको भनाइ छ। ‘दास परिवारको घरअगाडि पोखरीको डिलमा भालसरीको रुख छ।
त्यही रुखको फेदमा बसेर पार्टीको चुनाव चिह्न परिकल्पना गरेर अगाडि बढाइएको सुनेको हुँ,’ सांसद चौधरीले भने। कांग्रेसका तर्फबाट २०७२ सालमा उपराष्ट्रपतिका उम्मेदवार संविधानसभा सदस्य अमियकुमार यादवले पनि दास परिवारको घरको प्रांगणमा रहेको भालसरीको रुखबाट नै चुनाव चिह्न बनाइएको दाबी गरे।
‘नेपाली कांग्रेसका लागि औरही ऐतिहासिक ठाउँ हो। कांग्रेसका संस्थापक सदस्यहरु देवनाथजी र सूर्यनाथजीको घर अगाडि विशाल रुख छ,’ ७६ वर्षीय यादवले नेपालखबरसँग भने, ‘त्यही तल बसेर बीपी बाबुहरुले चुनाव चिह्न कल्पना गर्नुभएको थियो।’
उनले त्यसबेला दास परिवारको घरमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको आउजाउ बाक्लै रुपमा आफूले देखेको समेत जानकारी दिए। ‘उहाँहरु (दासबन्धु) पनि नेपाली कांग्रेसका संस्थापक नेतामै पर्नुहुन्छ। उहाँहरुको घरमा बीपी बाबु जानुहुन्थ्यो, ’उनले भने, ‘हामी सानै थियौँ।
विद्यार्थी जीवनमा मैले पनि बीपी बाबुसँग संगत गरेको थिएँ।’ यादव नेपालमा प्रजातन्त्र बहालीपछि सिरहाका पहिलो निर्वाचित सभापति हुन्। उनी राष्ट्रिय सभा सदस्य, संविधान सभा सदस्य हुँदै उपराष्ट्रपति पदमा नन्दबहादुर पुनसँग कांग्रेसका तर्फबाट चुनावी मैदानमा उत्रिएका थिए।
‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ नामक पुस्तकका लेखक पुरुषोत्तम बस्नेतचाहिँ कांग्रेसको चुनाव चिह्न सो भालसरीको रुखबाट प्रेरित नभएको दाबी गर्छन्। कांग्रेसको चुनाव चिह्न र अर्थशास्त्रका प्राध्यापक लाभले सामाजिक सञ्जालमा राखेको रुखको तस्बिरबारे नेपालखबरले राखेको जिज्ञासामा उनले भने, ‘होइन, त्यो होइन।
२०१५ सालमा पहिलो निर्वाचन हुने भयो। चुनाव चिह्न छान्न बोलाइयो। पार्टी आफैँले केही चुनाव चिह्नमध्ये रुख छानेको हो।’ तर, गत फागुन १० गते पार्टी कामको सिलसिलामा सिरहा पुगेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने कांग्रेसको चुनाव चिह्न परिकल्पना गरिएको रुख औरहीमा रहेको भन्दै उक्त ठाउँमा पुगे।
त्यो ठाउँमा पुगेर उनले भालसरीको रुख पछाडि पर्ने गरी तस्बिरसमेत खिचाए। पौडेलको तस्बिर मोबाइलको क्यामेरामा कैद गरेका नेपाल प्रेस युनियनका सचिव खिला कार्की भन्छन्, ‘केपी ओलीले पहिलो पटक विघटन गरेको संसद पुनःस्थापना भएको अघिल्लो दिन हामी सिरहामा थियौं।
वरिष्ठ नेताले औरहीमा चुनाव चिह्न कल्पना गरिएको रुख छ भन्ने सुनेको स्थानीय नेतालाई सुनाउनुभयो। पछि हामीहरु त्यहाँ पुग्यौं।’उनका अनुसार नेता पौडेल आफैँले स्थानीय नेताहरुले संस्थापक नेताहरु बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतका नेताहरु औरहीको एक रुखको फेदमा बसेर चुनाव चिह्न परिकल्पना गरेको प्रसंग निकालेका थिए। source:-news24expres