मंसिर १०-विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत एक जना बिरामीले अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गरेको छ । मोरङको धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेको हो । मण्डलले आज बिहान ६ बजेको समयमा आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।
उनको सोही अस्पतालमा उपचार भईरहेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले छारे रोगको पुरानै समस्या रहेका उनलाई उपचारका लागि मंसिर ३ गते परिवारले अस्पताल भर्ना गरेका थिए ।आइसियूमा राखेर अस्पतालले उनको उपचार गरेको थियो । आइसियूबाट वार्डमा सारेपछि अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको थियो । तर, उपचारवापतको १९ हजार रूपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाइरहेका थिएनन् ।
अस्पतालका अनुसार मण्डलको उपचारमा जम्मा ३६ हजार रूपैयाँ खर्च भएको थियो ।उनको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताइन्छ । उपचारमा लागेकोमध्ये १७ हजार रूपैयाँ मात्रै परिवारले तिर्न सक्यो । १९ हजार रूपैयाँ तिर्न नसकेका कारण मण्डललाई अस्पतालले बन्धक बनाएर राखेको थियो ।उनलाई अस्पतालमा कुरुवा उनकै सासू बसेकी थिइन् । सासू शौचालय गएका बेला मण्डलले अस्पतालबाटै हामफालेका थिए ।अस्पतालका अनुसार मण्डलले डिप्रेशनको औषधि पनि नियमित सेवन गरिरहेको पाइएको छ ।