९ मंसिर, काठमाडौं :- विधाताले रचेको विधिको विधानलाई कसैले टार्न नसक्ने रहेछ, आउने र जाने तिथि र मितिको पनि यो दुनियाँमा कसैलाई पत्तो नहुने रहेछ, कतिखेर यो धर्तीमा पदार्पण गराउने र कतिखेर धर्तीबाट पुनः नभमै विलीन गराउने यसको हिसाबकिताब र समय तालिका मान्छेको वशमा वा मान्छेको हातमा नहुने रहेछ।सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटना परी निधन भएको छ ।
विद्यालयको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको लहानको सप्तऋषि अस्पतालमा उपचारको क्रममा निधन भएको स्थानीय शिक्षक रामकुमार कार्कीले जानकारी दिए ।काम विशेषले बिहीबार सिरहाको पुगेका वडाध्यक्ष बस्नेत कांग्रेस दुधौलीका निवर्तमान सभापति थिए ।
यस्तै , पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा मालबाहक ट्रकले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन्।
विरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालबाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिँदा धादिङको सिद्धलेक गाउँपालिका १ नलाङकी ११ वर्षीय कृपा अर्यालको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक भावेस रिमालले जानकारी दिए।
दुर्घटनामा घाइते मिठु अर्यालको गजुरीस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।