४ मंसिर, काठमाडौं :- अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा०३१प०५८४ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मोटर साइकलमा सवार आशिष श्रेष्ठ गम्भीर घाइते भएको र उपचारका लागि उनलाई धुलिखेलतर्फ पठाइएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिनुभयो ।
बिहान ८ बजे सो घटना भएको प्रत्यक्षदर्शी दुर्गा श्रेष्ठले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार शव परीक्षणका लागि धुलिखेल लगिएको छ । यस्तै, भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिका- ३ घर भई कलंकी बस्ने २२ वर्षीय मिलन तामाङ रहेका छन् ।
मोटरसाइकल दुर्घटनापछि टिपरले किचेर गम्भीर घाइते भएका मिलनको राति २ बजे उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
बिहीबार राति साढे एक बजे सूर्यविनायक नगरपालिका-६ स्थित अरनिको राजमार्गमा जगाती बाट सूर्यविनायक जाँदै गरेको बाग्मती प्रदेश ०२-०३० प ०१६८ नं को मोटरसाइकलले प्रदेश नं. ३-०१-००३ क. ७८५१ नं. को टिपरलाई ओभरटेक गर्ने क्रममा सडक डिभाडरमा ठोक्किएर दुर्घटना भएको हो ।
मोटरसाइकल डिभाइडरमा ठक्कर खाएपछि चालक मिलन टिपरको पछाडिको चक्कामा परेर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।