काठमाडौँ,फागुन ५ गते । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरेको छ ।
भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई प्रहरीले आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।
आजभन्दा १३ दिनअघि विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो ।
लामो अनुसन्धानपछि प्रहरीले भट्टको हत्या आरोपमा दिनेशलाई सार्वजनिक गर्न लागेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले जानकारी दिए ।
सनातन धर्म माविमाको कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुपमा मन पराएको र १३ दिनअघि स्कुलबाट एक्लै फर्किएको मौका छोपेर बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ ।
दिनेशले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएका छन् । दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले अस्पतालमै शव छाडेर आन्दोलन गर्दै आएको छ ।
भागरथीका दुई दिदी र एक जना दाइ छन् । दिदीहरू तुलसी र पार्वतीको बिहे भइसकेको छ ।
स्थानीय भूमिराज माविमा १० कक्षासम्म पढेका केशव घरको आर्थिक अवस्था कमजोर भएकाले बहिनीलाई पढाउनका लागि मजदुरी गर्न भारतको राजधानी दिल्लीमा थिए ।
लकडाउनका बेला घर फर्किएका केशव बुवाकोे किरिया गरेर माघ ३ गते दिल्ली गएका थिए ।