महोत्तरीसहितका मध्यपूर्वी तराईमा अत्यधिक बढेको चिसोले जनजीवन झन् कष्टकर हुँदै गएको छ । पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो ।
गत २७ पुसयता महोत्तरीमा घाम देखिएको छैन । जताततै हुस्सुले डम्म ढाकेको छ । बेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहेको तुषारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर कैदीजस्तै बनिएको यहाँका बासिन्दा बताउँछन् । ‘बारीका तरकारीका बोट पहेँलिदै गए, टमाटर त बोटमै कुहिएर आफैँ भुइँमा झर्दैछन्,’ महोत्तरीको बर्दिवास नगरपालिका-९ पशुपतिनगरका तरकारी किसान महेन्द्रसिंह कुशवाहाले भने, ‘अन्य कोसे तरकारी (सिमी, केराउ, मटर) का बोट, लहरा, फूल र कोसा पनि कक्रक्क परेका छन् ।’
कुशवाहाजस्तै यसै बस्तीका रामविनोद महतो, जवाहर महतो र भोला महतो पनि लगातार एक साताको शीतलहरले तरकारी बालीबाट हात धुने अवस्था बनेको चिन्ता व्यक्त गर्छन् ।
लगातार चिसो बढ्दै जाँदा उचित स्याहार नपाउँदा जिङ्राएका पशुपालक किसानले बताएका छन् । ‘न हरियोपरियो घाँस खोज्न जान सकिएको छ, न वस्तु चरनमा लान सकिन्छ,’ जिल्लाकै भङ्गाहा नगरपालिका-४ रामनगरका बासिन्दा किसान हीरादेवी दाहाल भन्छिन्, ‘यी वस्तुको बिजोग हेर्दा मन थाम्न सकिन्न ।’
लगातारको चिसोले बस्ती/बस्तीमा बिरामी हुनेको सॐया बढेको छ । दम, खोकी र हाडजोर्नी दुख्ने व्यथाका बिरामी बढेका छन् । गरिब बस्तीका वृद्धवृद्धा, स-साना दूधेनानी र सुत्केरी बढी जोखिममा परेका बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विधानचन्द्र झाले बताए ।
चिसो बढ्दै जाँदा यसबाट घरका परिवारजनलाई ठिक राख्नु पहिलो प्राथमिकता भएको चिकित्सक र स्वास्थ्यकर्मी बताउँछन् । विनाप्रयोजन घर बाहिर ननिस्कने, खानेकुरामा गेडागुडीको तातो झोल, तातोपानी र ताजा खानेकुरा खाने, धुँवा ननिस्कने दाउराको आगो ताप्ने, न्यानो ठाउँमा बस्ने र न्याना लुगा लगाएर चिसोबाट हुने मानवीय क्षति बढ्न दिनबाट जोगाउन सकिने स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउँन् ।