गुल्मी । सामुदायिक रेडियो धुर्कोट लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियानको आज अन्तिम दिन विभिन्न ठाउँमा लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वर १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरिन्छ । लैङ्गिक हिंसाको अन्त्यका लागि गुल्मी जिल्लामा पनि विभिन्न अभियान तथा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । जिल्लाको धुर्कोट गाउँपालिकामा आज (बिहिबार) लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियान कार्यक्रम मनाइएको छ ।
लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने मुल नारामा साथ धुर्काेट गाउँपालिकाको केन्द्र बर्बोटमा एक कार्यक्रम गरी मनाइएको हो । कार्यक्रममा धुर्कोट गाउँपालिका कार्य पालिका सदस्य कमला घर्तीको अध्यक्षता, गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आथित्यता र धुर्कोट गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समितिका अध्यक्ष शिबहादुर खत्रि विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथिले महिला हिंसाको प्रमुख कारण शिक्षा र गरिबि रहेको बताउँदै गाउँपालिकाले विभिन्न खाले तालिमहरु सञ्चालन गरी सबैलाई शिक्षाको पहुँचमा पुर्याएर हिंसा न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो । गरिबिका कारण पनि हिंसा बढेको भन्दै गरिबि घटाउन र महिला लक्षित स्वरोजगारीका कार्यक्रमको माग गर्नुपर्ने बताउनुभयो । १६ दिने अभियानमा गरिबि घटाउन कस्तो खालको कार्यक्रम गर्नुपर्छ भनेर छलफल गर्नुपर्ने बताउँनुभयो ।
त्यस्तै गाउँपालिका लेखा शाखा तथा लेखा अधिकृत प्रकाश गौतमले आर्थिक र शैक्षिक कारणले गर्दा लैङ्गिक हिंसाका घटना घट्ने हुँदा छोरीहरुलाई शैक्षिक तथा आर्थिक क्षेत्रमा सशक्तिकरण बनाउन आवश्यक रहेको बताउँनुभयो ।
कार्यक्रममा सहभागिहरुले १६ दिने अभियानमा एक दिन मात्र कार्यक्रम आयोजना नगरी प्रत्येक दिन सम्पुर्ण वडाहरुमा गर्दा प्रभावकारी हुने बताएका थिए ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कासिराम पन्थि, निमित्त प्रशासकिय अधिकृत गिरिराज अर्याल, लेखा शाखा तथा लेखा अधिकृत प्रकाश गौतम, सामाजिक विकास समितिका सँयोजक तथा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष मानबहादुर कुवँर, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमलाल खनाल, सम्पुर्ण वडामा रहेका टोल सँरक्षण महिला मञ्चका अध्यक्ष तथा प्रतिनिधिहरु, गाउँपालिका गाउँकार्यपालिका सदस्यहरु, जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी लगायतको उपस्थिति रहेका थियो । कार्यक्रममा सम्पुर्ण अतिथिहरुले आ—आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिका प्रवक्ता तथा गाउँकार्यपालिका सदस्य कविता वि.क को स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन गाउँपालिका महिला विकास शाखा प्रमुख गँगा पन्थिले गर्नुभएको थियो । साथै कार्यक्रममा सहभागिहरुले ‘‘म लैङ्गिक हिंसा गर्ने छैन्, सहने पनि छैन् र भएको हिंसा चुप लागेर बस्ने छैन्’’ भनेर हस्ताक्षर गरि प्रतिबद्धता जनाएका थिए ।