प्युठान । गौमुखी गाउँपालिका–५ ठूलावेशी बजार क्षेत्रमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि बजार क्षेत्र शिल गरिएको छ । ठूलावेशी बजार व्यवस्थापन समितिको निर्णयको सिफारिसमा गाउँपालिका संकट व्यवस्थापन केन्द्रले हिजो मंगलबारदेखि शुक्रबारसम्मका लागि बजार शिल गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले बताउनुभयो ।
निर्णयअनुसार बजार पसल, बैंक तथा वित्तिय संस्था, विद्यालय बन्द भएका छन् । लक्षण सहितका विरामी देखिन थालेपछि बजार शिल गरि संक्रमितलाई होम आइसोलेसनमा राख्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले जानकारी दिनुभयो । गाउँपालिकाले सर्वसाधारणलाई कोभिडबाट बच्नको लागि सुरक्षाको मापदण्ड लागु गर्न आग्रह समेत गरेको छ ।