बुटवल, ३० कात्तिक । यसबर्ष बर्दिया अस्पताल लुम्बिनी प्रदेशको उत्कृष्ठ अस्पतालहरुको सूचीमा पहिलो भएको छ । यस्तै दोस्रो गुल्मी अस्पताल र तेस्रो रोल्पा अस्पताल ठहरिएको छ ।
गत २५ कात्तिकदेखि २७ कात्तिक सम्म चलेको स्वास्थ्यको प्रदेशस्तरीय बार्षिक समिक्षा गोष्ठीमा उत्कृष्ठ ठहरिएका ती अस्पतालहरुलाई सम्मान समेत गरिएको थियो । प्रतिस्पर्धामा लुम्विनी प्रदेशका १२ वटा जिल्लाका १३ वटा अस्पताल समावेश थिए ।
खासगरी न्युनतम सेवा मापदण्ड (एमएसएस) लागू भएको छ कि छैन ? कोभिड १९ को महामारीमा कसरी सेवा दिईयो ? बजेटको उपयोग कसरी गरियो ? बेरुजुको अवस्था कस्तो छ ? लगायतका विषय गरिएको मूल्यांकनबाट अस्पतालहरुलाई उत्कृष्ठ छनौट गरिएको हो ।
उत्कृष्ठ ठहरिएका अस्पतालका प्रमुखहरुलाई लुम्बिनीका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सम्मान गरेका थिए । बर्दिया अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा सुवाश पाण्डे, यस्तै गुल्मी अस्पतालका प्रमुख डा उत्तम पच्या र रोल्पा अस्पतालका प्रमुख डा धनमाया घर्तीलाई मन्त्री बरालले सम्मान गरेका थिए ।
पहिलो हुने बर्दिया अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा सुवाश पाण्डेले सम्मानले दायित्व बढाएको बताए । उनले आगामी दिनमा थप जिम्मेवारीका साथ सेवा प्रवाह गरिने बताए ।