बुटवल, २८ कार्तिक।
तिलोत्तमा नगरपालिकाको वडा नं. ६ मा निर्माण हुने यु.एच.टी. दुग्ध प्रशोधन परियोजनालाई सहयोग गर्ने तीन तहका सरकारले प्रतिबद्धता जनाएका छन् । तिलोत्तमा लगानी सम्मेलनमा गरिएको सम्झौताअनुसार लुम्बिनी विशिष्टकृत सहकारी संघले परियोजना कार्यान्वयको काम अघि बढाएको छ ।
आज नयाँमिलमा भएको सहकारीको प्रारम्भिक साधारण सभामा सहभागी तीन तहका सरकारका प्रतिनिधिहरुले दुग्ध प्रशोधन परियोजना स्थापना र सञ्चालनमा यथेष्ट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । साधारणसभा उद्घाटन कार्यक्रममा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल, प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सांसद विष्णु पन्थी,तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी लगायतका सरकारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
तिलोत्तमा लगानी सम्मेलनमा शो–केस गरिएको यु.एच.टी. दुग्ध प्रशोधन परियोजना कार्यान्वयनको लागि तिलोत्तमा नगरपालिकाले २ बिगाहा १० कट्ठा जमिन सहकारीलाई लिजमा दिएको छ । चालु आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको बजेटबाट परियोजना स्थलसम्म पहुँचमार्ग निर्माण, तारबार, जमिन सरसफाई गरी सम्माउने, बोरिङ्ग गाड्ने, ट्रस, गेट निर्माणलगायतका काम अघि बढाइएको छ ।
किसानले उत्पादन गरेको दुध बिक्रीको सुनिश्चितता गर्नुका साथै अधिक आर्थिक लाभ प्रदान गर्ने र बजारमा गुणस्तरीय दुध तथा दुग्ध पदार्थहरु आपूर्तिको सुनिश्चितता गर्नेगरी ६० करोडको लगानीमा परियोजना कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ । परियोजना कार्यान्वयनमा चाहिने ४० देखि ५० प्रतिशत बजेट तीन तहका सरकारबाट प्राप्त हुने सहकारी अभियन्ताहरुको विश्वास छ ।