बागलुङ, भदौ २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बागलुङले वोबाङका बाढी पीडितलाई नगद रु १९ लाख ५८ हजार ७ सय ५६ सहयोग प्रदान गरेको छ । बिहीबार ढोरपाटन नगरपालिका वडा नं ८ र ९ बोबाङ्का बाढी पीडितको लागि उक्त रकम ढोरपाटन नगरपालिकालाई हस्तान्तरण गरिएको नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए ।
बाढीबाट आफन्त गुमाएकाहरुको लागि आवासको व्यवस्था र पीडितका लागि आवश्यक राहतका लागि नेकपा सधैँ पीडितहरुकै साथमा रहेको समेत अध्यक्ष सापकोटाले बताए ।
पार्टीले जिल्ला स्थित विभिन्न पालिकामा अभियान चलाएर संकलन गरेको रकम एकमुस्ट ढोरपाटन नगरपालिकालाई हस्तान्तरण गरेको नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरेले बताए ।
बाढी पीडितहरुको लागि नेकपा बागलुङ नगरकमिटीले १ लाख ५० हजार, काठेखोला गाउँ कमिटीले १ लाख ६१ हजार १ सय, जैमिनी नगर कमिटिले ३० हजार, बरेङ गाउँ कमिटिले २५ हजार, ताराखोला गाउँ कमिटीले २५ हजार, गलकोट नगर कमिटीले ३ लाख ९२ हजार १ सय ७६ रुपैयाँ सहयोग गरेको नेकपा जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिइन् । त्यस्तै बडिगाड गाउँ कमिटीले ८४ हजार ५ सय ७५, ढोरपाटन नगर कमिटीले ४ लाख ४३ हजार ७ सय, तमानखोला गाउँ कमिटीले २० हजार, निसीखोला गाउँ कमिटीले २० हजार, अखिल नेपाल महिला संघ बागलुङले ८२ हजार १ सय ८५, युवा विद्यार्थीले २ लाख २३ हजार ५ सय रुपैयाँ सहयोग गरेका इन्चार्ज शर्माले उल्लेख गरिन् ।
त्यसैगरी धौलागिरी क्याम्पसका प्राध्यापक र कर्मचारीबाट २६ हजार ५ सय, मुक्ति समाज बागलुङले ५ हजार २०, उद्योग व्यापार संगठन बागलुङले ५० हजार, बागलुङका जिल्ला कार्यालयले २ लाख ८ हजार गरी १९ लाख ५८ हजार ७ सय ५६ रुपैयाँ सहयोग गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङका चन्द्र थापाले जानकारी दिए ।
राहत रकम हस्तान्तरण कार्यक्रममा संघिय सांसद मनकुमारी केसी, सूर्य पाठक, नेकपा बागलुङ इन्चार्ज बलावती शर्मा, प्रदेश सांसद दिपा रोका, नेकपा गण्डकी सचिव गोविन्द नेपाली लगायतको उपस्थित रहेको थियो ।
यस अघि बाढी प्रभावितलाई नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगरपालिका वडा नं २ को वडा कमिटीले १ लाख ३८ हजार र वडा नं ७ को वडा कमिटीले नगद रु ४६ हजार सहयोग हस्तान्तरण गरिसकेको नेकपा गलकोट नगर सचिवालय सदस्य छुम बहादुर थापाले जानकारी दिए ।