
बुटवल, भदौ २२ । विश्व नै कोरोना भाइरसको जपेटमा रहेको बेला, विगत चैत देखि नेपाल पूर्ण रूपमा लकडाउन रहेको र यस समयमा पनि केही शैक्षिक संस्थाहरुले नयाँ विद्यार्थी भर्ना र अनलाईन कक्षाको नाममा मनमानी रूपमा शुल्क उठाएको भन्दै नेपाल विद्यार्थी संघ रूपन्देहीले नगरपालिकालाई ध्यानआकर्षण गराएको छ ।
नेवि संघ रुपन्देहीले आज (सोमबार) तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै अनुगमनका लागि माग गरेको छ ।
बुटवल दैनिक संग कुरा गर्दै ने.वि. संघ रुपन्देहीका निवर्तमान सभापति सन्तोष डि सीले भने ,” शैक्षिक संस्थाहरूले पटक पटक आफूखुसी अभिभावक बाट जबरजस्ती रूपमा विभिन्न बहाना बनाई शुल्क उठाएकोमा आपत्ति जनाएका थियौं, तर पनि शैक्षिक संस्था हरुले अटेरी गरेको हुँदा ज्ञापन पत्रसहित ४ बुँदे माग पेश गरेका छौं, अझै पनि सरोकारवालाहरुले कुनै पाइला न चाले हामी तिलोत्तमा शिक्षा शाखा र जिल्ला शिक्षा कार्यालयमानै तालाबन्दी गर्न पछि हट्ने छैनौँ ।”
महामारीको बेला नेपाल जस्तो गरीब देशमा अनलाईन शिक्षा उपयुक्त न रहेको र यसले धनी र गरिब वर्ग छुटाउन अहिलेको शिक्षा प्रणालीले प्रोत्साहित गरेको ज्ञापन पत्र मा उल्लेख छ । ज्ञापन पत्रमा निम्न लिखित माग हरु रहेका छन् ।
१. शुल्क उठाउने र भर्ना प्रक्रिया अगाडि बढाउने शैक्षिक संस्थाको अनुगमन गरेर तत्काल कार्यवाहीको लागि पत्र काट्ने ।
२. भर्ना लगायत का अन्य बहानामा शुल्क उठाइसकेका शैशिक संस्थालाई उक्त रकम तत्काल अभिभावकलाई फिर्ता गर्न लगाउने ।
३. शिक्षा मन्त्रालयको निर्देशनको अवज्ञा गर्ने शैक्षिक संस्थाको तत्काल लाइसेन्स खारेजी गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने ।
४. वर्ग विभेद हुने गरी शैक्षिक गतिविधि मौलाएको कारण यसलाई तत्काल रोक्न सरोकारवालाहरुलाई अभिलम्ब बैठक बोला ई सो सम्बन्धमा उचित निर्णय गर्नु पर्ने ।


