गुल्मी,भदौ १३। मदाने गाउँपालिकाले नीति तथा कार्यक्रमका लागि बजेट सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७७/७८ मा विभिन्न नीति तथा कार्यक्रमका लागि ३९ करोड रकम मदाने गाउँपालिकाले विनियोजन गरेको छ ।
मदाने गाउँपालिकाको वडा न १ मा विभिन्न शिर्षकमा गरि २५ लाख रकम विनियोजन गरिएको बताएको छ । यस आर्थिक बर्षमा वडा न १ मा १० वटा योजनालाई बजेट विनियोजन गरि विकास निर्माणका कार्य गरिने वडा अध्यक्ष प्रेम चन्द बोहराले बताएका छन ।
यस बर्ष परेका १० योजना कार्यक्रम अन्तर्गत मयबोट खानेपानी योजना अग्लुङ्ग निपानेका लागि ५ लाख, मोटरबाटो मर्मत सुधारका लागि ५ लाख, कुखुरा काट्ने रघुवा फलाटे मोटरबाटो अग्लुङ्ग रघुवाफेदीका लागि ४ लाख ५० हजार, थोत्रे बिसौना कोहलचौर डाडावारी मोटरबाटोका लागि ४ लाख, गौरा सुपारी ओखर मोटरबाटो अग्लुङ्ग रिडिवनका लागि १ लाख ५० हजार, सामुदायिक तला थप अग्लुङ्ग निपानेका लागि १ लाख ५० हजार, ओख्लेदह प्रावि निर्माणका लागि १ लाख, खेल मैदान निर्माण अग्लुङ्ग-४ का लागि १ लाख, अग्लुङ्ग पुर्वाधार विकास भनेर १ लाख रकम छुट्टयाइएको छ ।
स्मरण रहोस् अघिल्लो आर्थिक बर्ष २०७६/७७ मा ३२ योजना तथा कार्यक्रमका लागि ७२ लाख रकम छुट्टाइएको थियोे । जसमा ६-७ वटा योजना विभिन्न कारण सम्पन्न हुन सकेनन् । अघिल्लो बर्षको तुलनामा यस बर्ष ४७ लाख रकम कम छुट्टाइएको छ । यस बर्ष कोरोना नियन्त्रण तथा रोकथाममा धेरै रकम खर्चिनु पर्ने भएकोले सबै वडाहरुमा विकास निर्माणका योजनाहरु कम परेको वडा अध्यक्ष बोहराले जानकारी दिए ।