काठमाडौं, भदौ १। राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । आज बसेको बोर्डको बैठकपछि नतीजा सार्वजनिक भएको हो ।कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विदुयार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको थियो। विद्यालयले पठाएको नतिजा रुजु गरेर बोर्डले सार्वजनिक गरेको हो ।
राष्ट्रिय परीक्षा वोर्डका अनुसार यसवर्ष ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थी रहेकोमा ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको नतिजा आएको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए । झण्डै १० हजार विद्यार्थी भने अयोग्य भएको परीक्षा वोर्डले जनाएको छ ।
परीक्षाफल प्रकाशित भएपनि भदौ १५ गतेसम्म कुनै पनि कलेजमा विद्यार्थी भर्ना गर्न पाइनेछैन । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ । त्यस्तै त्रुटी सच्याउन विद्यार्थीलाई पनिका आउनुपर्ने व्यवस्था समेत हटाइएको छ । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा र्पुयाउने व्यवस्था गरिएको छ ।
कसरी हेर्ने नतिजा ?
एसईईको नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत हेर्न सकिनेछ । जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउन सकिने सुविधा दिएको छ ।