धनकुटा :- धनकुटा नगरपालिकाका ६ वटा वडामा बिहीबार रातिदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा घोषणा भएको छ ।
प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको अध्यक्षतामा बसेको कोभिड– १९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा घोषणा गर्ने निर्णय गरेको हो ।
संक्रामण रोग ऐन, २०२० बमोजिम आवत–जावतमा प्रतिबन्ध लगाउन धनकुटा नगरपालिकाको वडा नं. १, ३, ४, ५, ६ र ७ मा साउन २९ गते राति १२ बजेदेखि भदौ ४ गते राति १२ बजेसम्म निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले बताए ।
धनकुटाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद कुसुम श्रेष्ठसहितका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको कन्ट्रयाक ट्रेसिङमा धेरै व्यक्ति परेकाले निषेधित क्षेत्र घोषणा गरेर स्वाब संकलन गर्न लागिएको छ ।
स्वाब संकलन गरिएका व्यक्तिको रिपोर्ट नआउँदासम्मका लागि आवत–जावतमा प्रतिबन्ध लगाउन निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको हो ।निषेधित क्षेत्र घोषणा गरिएको अवधिमा सो क्षेत्रमा अत्यावश्यक काममा बाहेक आवत–जावत गर्न पूर्ण रोक लगाइनेछ ।
दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाका मानिसलाई धनकुटामा आवागमनमा रोक लगाउनेसमेत बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिमलीले बताए ।
प्रदेश सांसद श्रेष्ठ र उनको श्रीमान्सहित अहिलेसम्म धनकुटामा १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यता धनकुटा नगरपालिकाले पनि अत्यावश्यक सेवाबाहेकका सबै सेवा एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ ।
धनकुटा नगरपालिका कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक सम्पन्न बैठकले कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू तथा सेवा केन्द्रहरूबाट प्रवाह गरिने सेवाहरू एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताए ।
सो समयमा सार्वजनिक भेला, भोजभतेर, गोष्ठी, बैठक, चाड मनाउनेजस्ता भिडभाड हुने कुनै पनि गतिविधि नगर्न नगरवासीमा अनुरोध गरिएको छ ।sorce- Arthatantra.com