दोहा, साउन २३ ।
बैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका नेपाली श्रमिकहरु मध्ये मार्च देखि जुलाई अन्तिमसम्म पाँच महिनाको अन्तरालमा २६ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट १ महिला र ७ जना पुरुषको मृत्यु भएको छ भने अन्य १८ जनाको विभिन्न कारणले मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार कोरोनाको कारण मृत्यु भएका ८ जनाकै परिवार सँग समन्वय गरि कुवेतै अन्तिम संस्कार गरिएको छ । हालसम्म कुवेतबाट विभिन्न उडानमार्फत १३ जनाको शव नेपाल पठाईसकिएको दूतावासले जनाएको छ ।
कुवेतमा कोरोनाबाट संक्रमितको हुनेको संख्या ६९ हजार ४२५ जना पुगेको छ । हालसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या ६० हजार ९०६ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ४६८ पुगेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुवेतमा यसअघि ८४ जना नेपाली कोरोनाबाट सङ्क्रमित भएको उल्लेख गरिएको थियो । त्यसपछिको अहिलेसम्म के कति नेपाली श्रमिकहरु कोरोनाबाट सङ्क्रमित भए, कति उपचारपछि निको भएर काममा फर्किए भन्ने नेपाली दूतावाससंग पनि तथ्याङ्क छैन ।