बुटवल, साउन २२ ।
कपिलवस्तुमा समुदायमा कोरोना संक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले कडाई गरेको छ । कपिलवस्तुमा भोलिबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार बिहान ५ बजेदेखि लागू हुने गरी साउन ३२ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जानकारी दिएको हो ।
आज मात्रै एकैपटक २५ जनालाई कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय गरिएको हो । आज कोरोना भेटिएका बैकका कर्मचारीदेखि स्वास्थ्यकर्मीसम्म रहेका छन् ।
यस्तै ढुवानीका साधन बाहेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधानहरु पूर्णरुपमा बन्द गरिने छ भने निजी सवारी साधन मोटरसाइकल, स्कुटरहरु जोर/बिजोर प्रणाली अनुसार सञ्चालन हुने छन् ।
कपिलवस्तुमा संक्रमितको संख्या ८ सय ४० पुगेको छ । जसमध्ये ७ सय ४७ जना निको भई घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।