काठमाण्ङाै, साउन २१ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन पाँच जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा एक जनाको मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।
वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको हो ।
मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षीय पुरुषको भने बुधबार बिहान अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याउने क्रममा बिहान १०ः३० बजे मृत्यु भएको थियो ।
कोरोनासँग मिल्ने लक्षण भएकाले स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हाे ।
यस्तै बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको पनि मृत्यु भएको हाे ।