काठमाडौ – कोरोना भाइरस (कोभिड–१९) को जोखिम घट्दै गएकोभन्दै सरकारले विद्यालय खोल्ने तयारी थालेको छ । बाँकेको स्थानीय सरकारले यस्तो तयारी थालेको हो । बाँकेको राप्तीसोनारी गाउँपालिकाले साउन १५ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ।
अहिलेकै अवस्था रहेका विद्यालय खोल्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा भएको सरोकारवालाको बैठकले अहिलेकै अवस्था रहेमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सामग्रीको प्रयोग गरेर साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए।
‘संघीय सरकारले कुनै निर्देशन पठायो भने अलग पाटो हो, नभए साउन १५ गतेबाट विद्यालय खोल्ने निर्णय भएको छ,’ उनले भने, ‘विद्यालयमा सुरक्षा सावधानी अपनाएर सञ्चालन गर्नुपर्ने सर्वपक्षिय रूपमा सुझाव आएकाले पढाइ सुरु गर्ने निर्णय गरेका हौं।’ कोरोना भाइरसका कारण लामो समय विद्यालय बन्द हुँदा पठनपाठन ठप्प छ।
गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि अधिकांश विद्यालय क्वारेन्टिन तथा आइसोलेसनका रूपमा प्रयोग गरेको थियो। विद्यालय सञ्चालन हुनुभन्दा पहिले क्वारेन्टिन तथा आइसोलेसनमा प्रयोग भएका विद्यालयका कक्षा कोठामा स्यानिटाइज छर्कने तयारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए।