असार २३ बागलुङ
गलकोट स्पोर्ट्स क्लव टोकियो जापानले छैठौं भलिबल प्रतियोगिता गर्ने भएको छ । नेपाली नयाँ वर्ष र क्लवको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष क्लवले यो कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा विश्व व्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को कारण उक्त कार्यक्रम स्थगित गरिएको गलकोट स्पोर्टस् क्लब टोकियोका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । उहाँले अब क्रमशः भलिबल प्रतियोगितालाई निरन्तरता दिईने समेत बताउनु भयो ।
टोकियोमा आयोजित बैठकको अवसरमा संस्थाका संरक्षक गिरी प्रसाद शेरचन, रत्नसिंह बस्नेत, सल्लाहकारहरु बेलुकाजी थापा ( संयोजक अन्तराष्ट्रीय गल्कोट समाज समेत ) रामकृष्ण बम मल्ल, बिजय भण्डारी, चन्द्र बहादुर खत्री लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । प्रतियोगिता आगामी सेप्टेम्बर २ तारिक बुधबारका दिन साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा हुने क्लवका महासचिव दुर्गाबहादुर खत्रीले जानकारी दिनुभयो । प्रतियोगिता सफल पार्न क्लवका अध्यक्ष लक्ष्मण कार्कीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ त्यस्तै बुद्ध बस्नेत संयोजक रहेको आर्थिक समिति, हिमाल कडेल संयोजक रहेको प्रचार प्रसार, दुर्गा बहादुर खत्री संयोजक रहेको हल व्यवस्थापन, दिनेश थापा संयोजक रहेको स्वयंसेवक समिति, अम्मर भण्डारी संयोजक रहेको खेलाडी व्यवस्थापन, प्रकाश निउरे संयोजक रहेको खाना नास्ता व्यवस्थापन, कृष्ण गौतम संयोजक रहेको अतिथि ब्यवस्थापन, देवेन्द्र खत्री संयोजक रहेको रेफ्री/एम्पाएर एवं खेल सामग्री व्यवस्थापन र जीवन गैरे संयोजक रहेको हल निरिक्षण समिति चयन गरिएको छ ।
प्रतियोगितामा सहभागी हुने टीमलाई प्रवेश शुल्क जापानी यन चालीस हजार तोकिएको छ । प्रतियोगितामा पुरस्कार राशी क्रमश प्रथम तीन लाख यन नगद प्रमाण पत्र, मेडल, सिल्भर कप र द्वितीय दुई लाख यन नगद प्रमाण पत्र, मेडल रहेको क्लवले जनाएको छ । कार्यक्रम अवधिभर विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारद्वारा सम्मान गरिने क्लवले घोषणा गरेको छ । “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ सन् २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लव टोकियोले प्रतियोगिताबाट भएको आम्दानी मार्फत नेपालमा खेलक्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । गल्कोट स्पोर्ट्स क्लव टोकियो नेपालको राष्ट्रिय खेल भलिबललाई जापानमा निरन्तर छैठौं पटक आयोजना गर्ने एक मात्र नेपाली संस्था हो ।
संस्थाले जापानमा रहेका खेलाडीहरू बीच मैत्रीपूर्ण एकता कायम गर्दै खेलकुदलाई निरन्तर अगाडि बढाउन महत्पूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । गलकोट स्पोर्टस् क्लब टोकियो गलकोटे युवाहरुले जापानमा स्थापना गरेको एक सामाजिक संस्था हो । क्लवले स्थापनाकाल देखि नै खेलकुद र सामाजिक उत्तरदायित्व सहितका क्रियाकलपहरूमा जोड दिँदै आएको छ ।