मदाने गुल्मी,१२ असार।
मदाने गाउँपालिका वडा नम्वर १ अग्लुङ्गमा कृषकहरुलाई मिनि टिलर, थ्रेसर, कुटानी पिसानी मिल तथा प्लास्टिक टनेल लगायतका कृषि सामाग्री वितरण गरिएको छ । मदाने गाउँपालिकाको अनुदानमा २८ लाख बराबरका कृषि अौजार कृषकलाई वितरण गरिएको हो ।
वडा नम्बर १ को टोल ९ मा रहेको देउराली आलु कृषक समुहद्वारा समुहका सदस्य कृषक सँगै अन्य कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री हस्तान्तरण गरिएको छ । कृषि सामाग्री अन्तर्गत मिनि टिलर ( मिनि हलो-हाते ट्याक्टर ), थ्रेसर ( कोदो चुट्ने मेसिन ), कुटानी मिल, कुटानी पिसानी मिल, प्लाष्टिक टनेल, त्रिपाल लगायतका सामाग्री वितरण गरिएको मदाने गाउँपालिका कृषि समुहका अध्यक्ष राजेन्द्र बिष्टले जानकारी दिनुभयो । कृषकलाइ उक्त सामाग्री उपलब्ध गराउन १४ लाख रकम कृषकबाट उठाइएको र बाकि रकम अनुदान रहेको उहाँको भनाई छ ।
कृषि ज्ञानकेन्द्र गुल्मीको ५० प्रतिशत अनुदानमा आएका ३१ पिस कुटानिपिसानी मिल, ५ पिस मिनि टिलर, ३ पिस मिनि थ्रेसर लगायत का कृषि सामाग्री वितरण गरिएको वताइएको छ।
कृषकहरुलाई कृषि क्षेत्रमा सहजता होस र कृषि उत्पादनको क्षेत्रमा अब्बल बनाउदै लैजान र कृषि क्षेत्रमा प्रोत्साहित गर्न उक्त सामाग्री उपलब्ध गराईएको कृषि तथा पशु विकास समिति मदाने गाउँपालिका वडा न १ का अध्यक्ष भगत चन्दले जानकारी दिनुभयो ।