काठमाडौं १२ असार / कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द हवाई उडान सञ्चालन हुनुपूर्व बुद्ध एयरले अभ्यास गरेको छ । सरकारले उडान प्रोटोकल बनाएर हवाई सेवा सञ्चालनको तयारी गरेसँगै बुद्धले उडान पूर्व बिहीबार अभ्यास गरेको हो ।
उडान शुरु भएपछि कुनै संक्रमित यात्रु जहाजमा भएको अवस्थामा अरुलाई संक्रमण फैलिनबाट रोक्न सकियोस भनेर अभ्यास परीक्षण भएको बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्रबहादुर वस्नेतले बताउनुभयो । प्रोटोकलअनुसारको तालिम दिएर अभ्यास थालिएको उहाँले बताउनुभयो ।
आन्तरिक उडान करिब ४० दिनपछि शुरु हुने भएपनि अभ्यास निरन्तर जारी रहने उहाँको भनाई छ । बुद्धले नियमित उडान शुरु भएपछि आवश्यकता अनुसार यात्रुलाई स्यानिटाइजर र मास्क दिने व्यवस्था पनि गरेको उहाँले बताउनुभो ।
यात्रुलाई कम्पनीले नै भाइजर दिनेछ । तर भाइजरको लागत मूल्य ५५ रुपैयाँ भने यात्रुबाट लिने उहाँले बताउनुभयो । हरेक उडानपछि जहाज डिसइन्फेक्सन हुने उहाँको भनाई छ ।