काठमाडौं- श्रम गन्तव्य मुलुकहरुबाट तत्काल ४० हजार श्रमिक स्वदेश फर्किन सक्ने अनुमान सरकारले गरेको छ। आधिकारिक तथ्याङ्क सम्बन्धित मुलुकका दूतावासहरुबाट संकलन भइरहेपनि अहिले ४० हजारको संख्या स्वदेश फर्किन चाहानेहरु रहेको अनुमान सरकारको छ।
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले कुवेतबाट तत्काल ८ हजार, साउदी अरबबाट ८ हजार र युएइबाट ४ हजार नेपाली आउने तयारीमा रहेको प्रारम्भिक अनुमान छ,’ उनले भने, ‘यसैगरी मलेसियाबाट ७ हजार कतारबाट ११ हजार, बहराइनबाट ३ सय जोर्डनबाट ६ सय, साइप्रसबाट ४ सय र अध्ययनको शिलशिलामा रहेका १५ सय बढी विद्यार्थीहरु स्वदेश फर्किन तयार छन्।’
अबका २ दिनभित्र सबै दूतावासबाट आधिकारिक तथ्याङ्क आउने उल्लेख गर्दै उनले श्रम गन्तव्य मुलुकबाहेकको तथ्यांक आइनसेकेको उल्लेख गरे।
सरकारले तय गरेको प्रथामिकताको सूचीअनुसार स्वदेश फर्किन चाहनेले सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने छ। केही खाडी मुलुकहरुले आममाफी पाएका व्यक्तिहरुलाई सम्बन्धित देशले आफ्नो खर्चमा पठाउने भनेपनि अन्यको हकमा व्यक्तिगत खर्च लाग्ने उनको भनाइ छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सचिव बैरागीले आर्थिक अवस्था कमजोर रहेका वा खर्च व्यहोर्न सक्ने अवस्था नभएकाहरुको हकमा भने सरकारले सहयोग गर्ने बताए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले कुबेतबाट उद्धारको काम ५ तारिखबाट सुरु गर्ने तयारी भएको बताए। एक दिनमा एक मुलुकमा १ फ्लाइट गरी १० वटा फ्लाइटमार्फत् उद्दार गरिने उनको भनाइ छ।
सचिव विडारीले एक दिनमा २५ सय देखि ३ हजारसम्मलाई स्वदेश फर्काउने गरी सरकारले तयारी गरेको छ। विमानस्थलमा ओर्लेपछि भक्तपुर, ललितपुर र काठमाडौंमा ९ वटा पार्टी प्यालेसमा उनीहरुलाई राख्ने तयारी सरकारको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार न्यौपानेले नेपाल एयरलाइन्सका ४ र हिमालयन एयरलाइन्सका ४ वटा विमान उद्धारका लागि तयारी अवस्थामा रहेको जानकारी दिए। आवश्यक परेमा बुद्ध एयरलाइन्सबाट पनि उद्दार गरिने उनको भनाइ छ। वाइडीबडीमा बढीमा २ सय ५० र अन्य विमानमा बढीमा ४० जनासम्म अट्ने उनको भनाइ छ।
विदेशबाट आएकाहरूलाई विमानस्थलमा सामान्य चेकजाँच गरी रिङरोड आसपासमा स्थापना गरिएको प्रदेशगत होल्डिङ रुमहरुमा उनीहरुलाई राखिने छ। प्रदेश प्रदेशको एक एक वटा होल्डिङ रुम बनाइएको छ। त्यसपछि स्थानय तह र प्रहरीको सहयोगमा उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा पठाइने छ।