काठमाडौं – जिल्ला प्रशासन कार्यालयले पास आवश्यक भएमा आ-आफ्नो नियामक निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ।
शुक्रबार प्रशासन कार्यालयले सूचना जारी गर्दै सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाले आ-आफ्नो नियामक निकायमा सम्पर्क गर्न अनुरोध गरेको हो।
नेपाल सरकारका मन्त्रालय, संघीय संसद, सर्वोच्च अदालत तथा संवैधिक निकायहरूले पासका लागि आफ्नो निकायका सचिवलाई सम्पर्क गर्नुपर्नेछ।
सञ्चारकर्मी तथा मिडिया हाउसहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सम्पर्क गर्नुपर्ने छ। त्यस्तै, बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र लगायतका सेवाका लागि नेपाल राष्ट्र बैंकले र सहकारीहरूलाई भने सहकारी विभागले पास दिने व्यवस्था मिलाएको प्रशासन कार्यालयले जनाएको छ।
तर आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाइलाई मात्रै सेवा दिइने छ।
व्यापार तथा वाणिज्यसँग सम्बन्धित कार्यका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र औद्योगिक उत्पादनसम्बन्धी कार्यमा संलग्न निकायहरूले उद्योग विभागमा सम्पर्क गर्नुपर्नेछ।
त्यसैगरी, जलविद्युत आयोजनाले ऊर्जा, जलस्रोत तगा सिँचाइ मन्त्रालयमा, राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार विकास आयोजनाका कर्मचारीहरूले भने सम्बन्धित मन्त्रालयका सचिवसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
हवाई सेवा प्रदायक कम्पनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवलाई सम्पर्क गर्नुपर्ने छ । त्यस्तै, पाठ्यपुस्तक पसल र ढुवानीका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
स्थानीयस्तरमा विकास आयोजना अनुगमन गर्ने पदाधिकारीको लागि आ-आफ्नो स्थानीय तहमा सम्पर्क गर्नुपर्ने छ। तर यो सोही स्थानीय तहभित्र मात्र लागू हुने छ।
नियामक निकाय नतोकिएका र भैपरी आउने अत्यावश्यक कार्यको लागि भने प्रशासन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। यसअघि जारी भएका सम्पूर्ण पास रद्द गरिएको थियो।