
चितवन, भदौ ८ – बारामा ३ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोप लागेका एक किशोरको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ। हतकडी लगाइएको अवस्थामा प्रहरीको सुरक्षाबीच देखिएको उक्त भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको हो।
भिडियोमा किशोरलाई घटनासँग सम्बन्धित विषयमा विभिन्न प्रश्न सोधिएको देखिन्छ। संवेदनशील आपराधिक घटनामा अनुसन्धानका क्रममा अभियुक्तको गोपनीयता कायम गर्नुपर्ने प्रावधान रहेकाले भिडियो सार्वजनिक भएपछि प्रहरीको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ।
बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भने भिडियो पत्रकार वा सञ्चारमाध्यमबाट तयार भएको नभई स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाने क्रममा खिचिएको बताएका छन्। उनका अनुसार पक्राउ परेका किशोरसँग प्रहरीका दुई जना ड्युटी अधिकृत अस्पताल पुगेका थिए। अस्पतालमा चिकित्सकले स्वास्थ्य परीक्षणका क्रममा किशोरसँग प्रश्न गरेका बेला उक्त भिडियो खिचिएको बताइएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले संवेदनशील मुद्दामा अनुसन्धानका क्रममा तयार हुने अडियो तथा भिडियो सार्वजनिक गर्नु प्रहरीको प्रोटोकलविपरीत रहेको बताएका छन्। उनका अनुसार प्रहरीले अनुसन्धानमा संकलन भएका यस्ता सामग्री सार्वजनिक गर्दैन र अभियुक्तलाई सार्वजनिक गर्दा समेत निर्धारित प्रक्रिया पालना गर्नुपर्ने हुन्छ।
भिडियो सार्वजनिक भएको जानकारी पाएपछि मधेश प्रदेश प्रहरी प्रमुखमार्फत सम्बन्धित जिल्लामा बुझ्ने काम भइरहेको प्रवक्ता काफ्लेले बताएका छन्। साथै प्रहरी प्रधान कार्यालयले समेत घटनाबारे छुट्टै टोलीमार्फत अनुसन्धान अघि बढाएको जनाएको छ।
