काठमाडौं, असार ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार उक्त मतदानमा कुल २ हजार ९५९ मत खसेको छ।
मतदान सकिएपछि अहिले मतपेटिका व्यवस्थापन तथा मुचुल्का तयार गर्ने कार्य भइरहेको छ। उक्त प्रक्रिया पूरा भएपछि मतगणना सुरु गरिने निर्वाचन स्रोतले जनाएको छ।
केन्द्रीय सदस्यहरूको मतपरिणाम सार्वजनिक भएपछि आजै पार्टीका विभिन्न पदाधिकारी पदका लागि मतदान हुने कार्यतालिका रहेको छ।
महाधिवेशनबाट खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री तथा दुई महिला सहमहामन्त्री चयन गरिनेछ। त्यसका लागि प्रतिनिधिहरूले आजै मताधिकार प्रयोग गर्नेछन्।
रास्वपाको नयाँ नेतृत्व चयनका लागि भइरहेको महाधिवेशनलाई पार्टीभित्र चासोका साथ हेरिएको छ भने मतगणनाको नतिजा प्रतीक्षामा नेता तथा कार्यकर्ता रहेका छन्।


