
काठमाडौं:- महानगरीय प्रहरी वृत्त, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विभिन्न देशका अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार चीनतर्फ जान लागेका एक यात्रुको साथबाट चेकजाँचका क्रममा अमेरिकी डलर १० हजार १००, युरो २९ हजार ५००, चिनियाँ युआन ५८ हजार ७०० तथा स्विडेनको पाँच सय क्रोनर दरका ३२ थान नोट बरामद गरिएको हो। पक्राउ पर्नेमा स्विडिस नागरिक ५१ वर्षिया महिला (KLITNCHOK KHANDR) रहेका छन्।
बरामद गरिएको उक्त विदेशी मुद्रा सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरी कार्यालयले जानकारी दिएको छ।


