
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वदीप पाण्डे (सुभाष) ले धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनलाई जोड दिँदै मुक्तिनाथ धाम, नयाँगाउँमा आदरणीय सन्त शिरोमणि लोकानन्द गुरु सँग भेटघाट तथा संवाद गर्नुभएको छ।
भेटका क्रममा उम्मेदवार पाण्डेले बुटवल प्राकृतिक स्रोत, धार्मिक तथा सांस्कृतिक विविधताले समृद्ध क्षेत्र भएकाले यिनलाई पर्यटनसँग एकीकृत रूपमा अगाडि बढाउन आवश्यक रहेको धारणा राख्नुभएको थियो। उहाँले धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण गर्दै बुटवल र रुपन्देहीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।
सो अवसरमा सन्त शिरोमणि लोकानन्द गुरुबाट धार्मिक स्थलहरूको संरक्षण, व्यवस्थापन तथा धार्मिक पर्यटन विकासका विषयमा महत्वपूर्ण सुझाव तथा सल्लाह प्राप्त भएको जनाइएको छ।
धार्मिक पर्यटनको विकासले स्थानीय स्तरमा रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा क्षेत्रीय पहिचान प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। उम्मेदवार पाण्डेले धार्मिक–सांस्कृतिक क्षेत्रको संरक्षणसँगै पूर्वाधार विकास, प्रभावकारी प्रचार–प्रसार तथा सरोकारवाला निकायबीच समन्वय गरेर बुटवललाई पर्यटकीय नगरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


