
नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै पार्टीका उम्मेदवारलाई रुख चिन्हमा मतदान गरी विजय गराउन सबै तहका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम मतदातासँग हार्दिक अपिल गरेको छ ।
बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा समितिले लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सक्रिय रूपमा खटिएर काँग्रेस उम्मेदवारको पक्षमा अनुकूल माहौल निर्माण गर्न नेता–कार्यकर्तालाई आग्रह गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिका संयोजक तथा प्रदेश उपसभापति राजु खनालले जननायक बिश्वेश्वर प्रसाद कोइरालाको सक्रियतामा स्थापना भएको नेपाली कांग्रेसले विभिन्न कालखण्डमा देशका महत्वपूर्ण राजनीतिक परिवर्तनहरूको नेतृत्व गर्दै आएको बताए । उनले नेपाली कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई आत्मसात गर्दै मानव अधिकार, संसदीय शासन प्रणाली तथा बहुदलीय व्यवस्थालाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेको जानाकारी दिए ।
पार्टीले न्यायपूर्ण, सुशासनयुक्त, भ्रष्टाचाररहित, गतिशील, स्वतन्त्र तथा समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धता कायम राख्दै आएको उल्लेख गर्दै सबै प्रकारका हिंसात्मक द्वन्द्वको अन्त्य र स्थायी शान्तिको पक्षमा कांग्रेस सधैं दृढ रहेको बताए ।
खनालले सम्पूर्ण समितिहरूलाई जिम्मेवारीपूर्वक निर्वाचनमा परिचालन हुन आग्रह गरेका थिए । साथै व्यापारी, बुद्धिजीवी, युवा तथा शुभेच्छुक सबैलाई एकताबद्ध भई कांग्रेस उम्मेदवारलाई समर्थन गर्न अपिल गरेका छन ।
नेपाली कांग्रेस आम जनताको सार्वजनिक पूँजी भएको उल्लेख गर्दै पार्टीले आफ्ना कमजोरीप्रति आत्मआलोचना गर्दै उपलब्धिहरूलाई थप संस्थागत गर्ने संकल्प गरेको खनालले बताए । उनले विभिन्न कारणले पार्टीबाट अलग भएका, निष्क्रिय रहेका वा विदेशमा रहेका समर्थक तथा कार्यकर्तालाई पुनः पार्टीको मूलधारमा फर्किन पनि आग्रह गरेका थिए ।
पत्रकार भेटघाटमा काङ्ग्रेसको निर्वाचन परिचालन समितिले परिवर्तित राजनीतिक परिस्थितिमा उच्च मनोबल, एकता र जिम्मेवारीका साथ निर्वाचनमा जुट्नुपर्ने आवश्यकता औंल्याउँदै कांग्रेसले यस निर्वाचनलाई लोकतन्त्र र समुन्नतिको अभियानका रूपमा लिएको जनाएको छ। “बदलियो कांग्रेस, बदल्छौं देश” भन्ने संकल्पका साथ पार्टीका उम्मेदवारलाई अत्याधिक मतसहित विजय गराउन सबै तहका कार्यकर्तालाई सक्रिय रूपमा परिचालन हुन निर्वाचन परिचालन समितिले आग्रह गरेको छ।


