
पुजा खत्री, अर्घाखाँची
आजको विश्व प्रतिस्पर्धा र प्रविधिको युग हो। जहाँ जोस, सिर्जनशीलता र नवीन सोच भएका युवाहरूले ठूलो परिवर्तन ल्याइरहेका छन्। नेपाल पनि यस प्रवाहबाट अछुतो छैन। पछिल्ला वर्षहरूमा “उद्यमशीलता (Entrepreneurship)” र “स्टार्टअप संस्कृति (Startup Culture)” नेपाली समाजमा नयाँ सम्भावनाको रूपमा उदाउँदै गएको छ।
उद्यमशीलता भन्नाले केवल व्यापार गर्ने काम मात्र होइन, समस्याको समाधान खोज्ने, नयाँ अवसर पहिचान गर्ने र त्यसलाई व्यवहारमा रूपान्तरण गर्ने सोच हो। यसले आत्मनिर्भरता, रोजगारी र आर्थिक विकासमा ठोस योगदान पुर्याउँछ। नेपालमा पनि धेरै युवाहरू परम्परागत सोचबाट बाहिर निस्किएर आफ्नै सीप, ज्ञान र लगनशिलताबाट नयाँ व्यवसाय सुरु गर्न थालेका छन्।
नेपालमा उद्यमशीलताको बढ्दो आकर्षणको मुख्य कारण बेरोजगारी र वैदेशिक रोजगारप्रतिको निर्भरता हो। हरेक वर्ष हजारौं युवा वैदेशिक रोजगारीका लागि देश छोडिरहेका छन्। तर केही युवाले “देशमै केहि गर्न सक्छु” भन्ने आत्मविश्वासका साथ आफ्नै स्टार्टअप सुरु गरेका छन्। उदाहरणका लागि राइड सेयरिङ सेवा (जस्तै: Pathao, InDrive), अनलाइन डेलिभरी सेवा (Foodmandu, Bhoj Deals), कृषि प्रविधि र अर्गानिक उत्पादनमा आधारित व्यवसायहरू, तथा आईटी सेवा र ई–कमर्स प्लेटफर्महरू अहिलेका सफल नेपाली स्टार्टअपका उदाहरण हुन्।
स्टार्टअप संस्कृति भन्नाले नयाँ व्यवसाय सुरु गर्ने मात्र होइन, त्यससँग सम्बन्धित विचार, कार्यशैली र वातावरण पनि जनाउँछ। यसमा जोखीम लिन तयार युवा, नवप्रवर्तनमा विश्वास गर्ने टिम, र प्रयोगबाट सिक्ने मानसिकता आवश्यक हुन्छ। यस संस्कृतिले “असफलता पनि सिकाइको अवसर हो” भन्ने सोच फैलाउँछ।
तर नेपालमा उद्यमशीलता र स्टार्टअप विकासका अगाडि धेरै चुनौतीहरू पनि छन्। वित्तीय पहुँच सीमित छ, लगानीकर्ताको विश्वास अझै पूर्ण विकसित भएको छैन, नीति–नियम जटिल छन् र बजार सानो छ। प्राविधिक सीप, व्यवसायिक परामर्श र मार्केटिङ ज्ञानको अभावले पनि धेरै स्टार्टअपलाई टिक्न कठिन बनाएको छ।
यद्यपि, सरकार र निजी क्षेत्रले केही सकारात्मक पहलहरू सुरु गरेका छन्। स्टार्टअप नीति २०८०, युवा स्वरोजगार कोष, र विभिन्न इन्क्युबेसन सेन्टरहरू युवालाई सहयोग गर्न लागिपरेका छन्। विश्वविद्यालयहरूमा पनि उद्यमशीलता शिक्षाको सुरुवात हुँदैछ, जसले नयाँ पुस्तालाई व्यवसायिक सोचतर्फ प्रेरित गरिरहेको छ।
नेपालमा सफल उद्यमशीलता केवल आर्थिक विषय होइन, सामाजिक परिवर्तनको बाटो पनि हो। जब युवाले आफ्नै गाउँ–सहरमा रोजगारी सिर्जना गर्छन्, त्यतिबेला त्यो केवल व्यापारिक सफलता होइन, सामुदायिक योगदान पनि हो। यसले आत्मनिर्भर नेपाल निर्माण गर्ने दिशामा ठोस कदम चाल्दछ।
उद्यमशीलता र स्टार्टअप संस्कृति नेपालका युवाहरूको सम्भावनालाई उजागर गर्ने सबल माध्यम बनेको छ। यदि हामीले नीति, लगानी र सीप विकासमा ध्यान दिन सक्यौं भने, नेपाल “रोजगारी खोज्ने देश” होइन, “रोजगारी दिने देश” बन्न सक्ने स्पष्ट सम्भावना छ।


