
माओवादि केन्द्र लम्बिनीले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनामा नौजवान युवा पुस्ताको बर्बरतापूर्ण हत्या र सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा पुगेको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त सार्वजनिक अपिल जारी गरेको छ। उक्त अपिलमा आन्दोलनमा प्राण आहुति दिने महान शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
माओवादि केन्द्र लु्म्बिनीका अध्यक्ष सुदर्शन वरालले अहिले देश बिषम परस्थितिमा रहेको बेला सबै राजनितिक दलहरुले दलगत स्वार्थ भन्दा माथी उठेर संबिधानको रक्षा गर्नुपर्ने बताए । देशमा धेरै ठुलो बलिदान र त्यागले संघिय लोकतान्त्रीक गणतन्त्र स्थापना भएको भन्दै सबै नागरिकले संबिधानको रक्षा गर्दै देशलाई निकास खोज्न लाग्नु पर्ने बताए ।
उनले भने पार्टीले बिचौलिया र दलालहरूको योजनामा निर्माण भएको तत्कालीन दुई तिहाइ सरकारद्वारा देशमा मौलाएको भ्रष्टाचार र कुशासनविरुद्ध चलेको यो आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाएको छ। तर, जेनजी आन्दोलनको मर्म विपरीत घुसेका अवाञ्छित तत्वहरूले सार्वजनिक तथा निजी सम्पत्तिमा गरेको क्षतिले देशलाई पछाडि धकेलेको भन्दै ती गतिविधिको कडा निन्दा गरिएको स्पष्ट पारे ।
अपिलमा भनिएको छ, “यो ऐतिहासिक विद्रोहको मागअनुसार अन्तरिम सरकार निर्माणको तयारी भैरहेको र बाँकी माग सम्बोधन गर्ने प्रक्रिया अगाडि बढिरहेको अवस्थामा सबैले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै संविधान र व्यवस्थाभित्रैबाट समाधान खोज्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ ।”
पार्टीले समाजलाई पुनः शान्ति र सद्भावको बाटोमा अघि बढाउन तथा संकटपूर्ण घडीमा विचलित नभई जनसमुदायसँग एकाकार भई अघि बढ्न सबै पार्टी कार्यकर्तालाई अपिल गरेको छ। साथै, शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न तथा संयमता अपनाउन सबै राजनीतिक दल, नागरिक समाज, उद्योगी–व्यवसायी, बुद्धिजीवी, सञ्चारकर्मी र राष्ट्रसेवक कर्मचारीलाई समेत आह्वान गरिएको छ।


