
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नजिकिँदै गर्दा पश्चिम नेपालको सबैभन्दा पुरानो त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन पाल्पामा चुनावी माहोल तातेको छ। अघिल्लो पटक सहमतिमा निर्विरोध चुनिएको स्ववियु यस पटक भने कडा प्रतिस्पर्धाको केन्द्र बनेको छ।
यस निर्वाचनमा माओवादी निकट अखिल (क्रान्तिकारी), एमाले निकट अनेरास्ववियु, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु (समाजवादी) र स्वतन्त्र प्यानल छुट्टाछुट्टै प्रतिस्पर्धामा छन् भने नेविसंघ र अखिल छैठौंको संयुक्त प्यानल चुनावी मैदानमा रहेको छ।
क्रान्तिकारीको पक्षमा जनमत बलियो
लामो समयदेखि नेविसंघले नेतृत्व गरेको पाल्पा क्याम्पसमा यस पटक आफ्नो पकड जोगाउन हम्मेहम्मे परेको देखिन्छ। एमालेको लागि पाल्पा ऐतिहासिक रूपमा बलियो आधार क्षेत्र भए पनि उसका विद्यार्थी संगठनहरू भने कमजोर अवस्थामा छन्। संगठनात्मक सक्रियता, विद्यार्थीको पक्षमा निरन्तर काम गरेको ट्र्याक रेकर्ड, र लोकप्रिय उम्मेदवारको कारण अखिल (क्रान्तिकारी) पहिलो रोजाइ बन्ने सम्भावना देखिन्छ।
अध्यक्ष पदका लागि अखिल (क्रान्तिकारी) का उम्मेदवार मिलन घर्ती मगर विद्यार्थी समुदायमा स्थापित नेता मानिन्छन्। अन्य प्रतिस्पर्धीहरू उनीजत्तिकै लोकप्रिय र संगठित देखिँदैनन्। विभिन्न विश्लेषकहरूका अनुसार नेकपा (माओवादी केन्द्र) ले सुशासन र समृद्धिका पक्षमा निरन्तर सञ्चालन गरेको अभियानको सकारात्मक प्रभाव शिक्षाक्षेत्रमा समेत परेको छ, जसले गर्दा विद्यार्थीहरूको समर्थन क्रान्तिकारीप्रति बढी देखिन्छ।
यद्यपि पाल्पा एमालेको प्रमुख गढ हो, उसको भातृ संगठन अनेरास्ववियु भने कमजोर अवस्थामा रहेको देखिन्छ। आफ्ना उम्मेदवार उठाउनै गाह्रो भएपछि अनेरास्ववियुले क्रान्तिकारी र नेविसंघ निकट विद्यार्थीलाई प्रलोभनमा पारेर उम्मेदवारी दर्ता गराएको आरोप लाग्दै आएको छ। अध्यक्ष पदका लागि अनेरास्ववियुकी अनुजा अर्यालको उम्मेदवारी एकाएक घोषणा भएपछि क्याम्पसमा आश्चर्यचकित प्रतिक्रिया देखिएको छ। एमालेका सांसद, प्रदेश मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरूले विपक्षी विद्यार्थीलाई धम्की दिने, पारिवारिक दबाब सिर्जना गर्ने, र उम्मेदवारी फिर्ता लिन दबाब दिने जस्ता गतिविधि गरेको गुनासो कतिपय विद्यार्थीहरूले गरेका छन्। स्वतन्त्र रूपमा उम्मेदवार छनोट गर्ने अधिकारमाथि धावा बोल्ने कार्य उचित नभएको भन्दै विद्यार्थीहरूले असन्तुष्टि जनाएका छन्। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु (समाजवादी) को संगठनात्मक अवस्था सशक्त नभए पनि अध्यक्ष पदका उम्मेदवार उमेश अर्याल विद्यार्थी समुदायमा परिचित छन्। उनले नेविसंघ र अनेरास्ववियुबाट असन्तुष्ट मतदाताहरू तान्न सक्ने अनुमान गरिएको छ।
पाल्पाको कुल जनसंख्याको ५३ प्रतिशत भाग मगर समुदायले ओगटेको छ, जसले गर्दा मगर समुदायको उम्मेदवार मिलन घर्ती मगरको सम्भावना अझ बलियो देखिन्छ। पाल्पा क्याम्पसमा १,८९४ मतदाता रहेका छन्, जसमा करिब ६० प्रतिशत मगर विद्यार्थी छन् भने १,३०० भन्दा बढी छात्राहरू अध्ययनरत छन्। यी तथ्यहरूले मिलन घर्तीको जीत सुनिश्चित गर्न सक्ने मतदाताहरु बताउँछन्।
चुनावी आचारसंहिता आज राति १२ बजेबाट लागू हुँदैछ, जससँगै पाल्पा क्याम्पसमा चुनावी सरगर्मी अझ चुलिने देखिन्छ।


