रिया बस्नेत क्षेत्री 
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपन्देही जिल्लाको ओमसतियामा अवस्थित ऐतिहासिक तथा धार्मिक रामजानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यासका लागी प्रचण्ड भोली ओमसतिया आउँदैछन।
ओमसतिया गाउँपालिकाको वडा नम्बर ६ मा रहेको जमुहानी पोखरा ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पार्क निर्माण तथा सौन्दर्यकरणको योजना अघि बढाइएको ओमसतिया–६ का वडा अध्यक्ष शिव कुमार धवलले बताए उनका अनुसार यो परियोजना क्षेत्रीय विकासका लागि महत्वपूर्ण हो ।
तत्कालीन अर्थमन्त्री वर्षमान पुनको कार्यकालमा उक्त परियोजनाका लागि १ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। हाल ताल सौन्दर्यकरणका लागि ८८ लाख रुपैयाँको बोलपत्र आह्वान भई स्वीकृत भइसकेको छ। यस योजनाले स्थानीय रोजगारी सिर्जना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र वातावरणीय सौन्दर्य कायम राख्ने अपेक्षा गरिएको छ।
पूर्वप्रधानमन्त्री प्रचण्डको उपस्थितिले परियोजनालाई राष्ट्रिय चासोको विषय बनाउने र पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास स्थानिय पालिकाले गरेको छ। तालको व्यवस्थापन, संरक्षण र पर्यटनस्थलका रूपमा विकास गर्न तीनै तहका सरकारको दायित्व रहेको अध्यक्ष धवलले बताए। उनले भने, “यो ताल ऐतिहासिक तथा धार्मिक रूपमा महत्वपूर्ण छ। रामजानकी मन्दिरसँगै रहेको यो स्थानलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सके, सरकारको राजस्व वृद्धि हुनेछ।”
स्थानीय जनप्रतिनिधिहरूका अनुसार जमुहानी पोखरा तालको विकासले रुपन्देही जिल्लाको पर्यटनमा नयाँ आयाम थप्नेछ। यस योजना अन्तर्गत तालको सौन्दर्यकरण, हरियाली विस्तार, बोटिङ सुविधा, विश्रामस्थल, खेलमैदान, तथा पर्यटकका लागि व्यवस्थित होमस्टे निर्माण गरिनेछ।
स्थानीय सरकार, सरोकारवाला निकाय तथा सर्वसाधारणले यसको सफल कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। प्रचण्डको आगमनले योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न थप प्रेरणा दिने अपेक्षा गरिएको छ। जमुहानी पोखरा ताल पार्कको निर्माण तथा व्यवस्थापनले रुपन्देहीको पर्यटकीय सम्भावनालाई उजागर गर्दै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने विश्वास गरिएको पालिकाले बताएको छ ।


