महिला र समावेशी कोटाबाट निर्वाचित सांसद्हरुले समान अवसर र अधिकार दिन माग गरेका छन् । लुम्बिनी प्रदेश सभाले सोमबार रुपन्देहीको बुटवलमा आयोजना गरेको प्रदेशसभा सदस्य र पूर्व प्रदेशसभा सदस्यबीच अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा उनीहरुले प्रत्यक्ष निर्वाचित र अन्य कोटाका सांसद्को तुलनामा आफूमाथि विभेद भएको बताए ।
कार्यक्रममा बोल्दै उपसभामुख मेनुका खाँण केसीले प्रत्यक्ष निर्वाचितको भन्दा समानुपातिक र समावेशी कोटाबाट आएका सांसद्हरुले काम गर्ने क्षेत्र फराकिलो र ठूलो रहेको बताइन् । प्रदेशका १२ वटै जिल्ला र ५२ वटा निर्वाचन क्षेत्रका नागरिकका सवाललाई समानुपातिक सांसदले उठाउन र काम गर्न सक्ने भए पनि त्यस्तो वातावरण नरहेको उनले गुनासो गरिन् ।उपसभामुख खाँणले समानुपातिकबाट आएका महिला र सीमान्तकृत सांसदहरुलाई तल्लो दर्जामा हेर्ने बजेटदेखि जिम्मेबारे लेनदेनमा पनि विभेद गर्ने गरेको अनुभव सुनाइन् ।
प्रदेश सभा सदस्यहरुले भौतिक विकासले मात्रै समाज रुपान्तरण गर्न र नागरिकमा संघीयताको अनुभूति दिलाउन नसकिने भएकाले लैंगिक समानता र समावेशीताको सवाललाई प्राथमिकता दिएर प्रदेशसभामा उठाउने वातावरण बनाउन सुझाव दिएका थिए । प्रदेश सभा सदस्य भगवती घिमिरेले महिला सांसदले उठाएका कतिपय विषयलाई नजरअन्दाज गरिएको बताइन् ।
प्रदेश सभा सदस्य हेमा बेल्बासे केसीले समानुपातिकबाट आएका सांसद्हरुलाई हेर्ने दृष्टिकोण नै फरक भएकाले फेर्न सुझाव दिइन् ।सांसद् जमुना ढकालले बजेट विनियोजनदेखि आतिथ्यतासम्म महिला, समानुपातिक र समावेशी कोटाबाट आएका सांसदहरुलाई विभेद गरेको बताइन् ।
सांसद् यमबहादुर नेपालीले सिमान्तकृत समुदायबाट आएका सांसदहरुका लागि क्षमता विकाससंगै उनीहरु नागरिकमाझ जानसक्ने वातावरण नभएको गुनासो गर्दै यसलाई सुधार्न आग्रह गरे । सांसद शान्ति लोधले भाषा, संस्कृति र संस्कारले समानुपातिक र पछाडि परेको समुदायबाट गएका सांसदलाई जान्न बुझ्न समस्या भएको बताइन् ।
सांसद् वसीउद्दीन खानले सीमान्तकृत समुदायका सवाल संसदमा उठाए पनि सरकारले नसुन्ने परीपाटी रहेको बताए । अघिल्लो कार्यकालमा सदनबाट जतिसुकै आवाज उठाउँदा पनि नसुनिएको बताउँदै आफू शिक्षामन्त्री बनेपछि मुस्लिम, वादी लगायत सीमान्तकृतको शिक्षामा धेरै नमूना काम गरेको उनले दावी गरे ।
सांसद् इन्द्रजीत थारुले संविधानले दिएको समानुपातिक र समावेशी कोटाअनुसार सांसद छानिएपनि उनीहरुलाई सरकारमा लैजाने र लक्षित समुदायसित काम गर्न प्रोत्साहित गर्ने वातावरण अझै नभएको बताए । उनले मुखले समावेशी भने पनि अझै पनि भाग खोसिएका रुपमा लिँदा सांसद्हरुबीच पनि विभेद रहेको दावी गरे ।
सांसद् भोजप्रसाद श्रेष्ठले प्रदेशसभामा प्रभावकारी भूमिका देखाउन सांसद्हरु पहिले घटनाबारे जानकार, अध्ययनशील र विषयमा पोख्त हुनुपर्ने बताए । नागरिकका अधिकारका सवाल उठाउँदा दलहरु बाधक बने त्यस्तो घेरालाई समेत तोड्न उनले सुझाव दिए । यसका लागि समानुपातिक र समावेशी कोटाबाट छानिएर आएका सांसदहरुले नागरिकका जनजीविका, अधिकार र सामाजिक रुपान्तरणका विषयलाई मुद्धा बनाएर अगाडि बढ्नुपर्ने उनले बताए ।
पूर्व प्रदेश सभा सदस्य रमा घर्तीले प्रदेश सभामा प्रभावकारी भूमिका खेल्न क्षमता विकास, प्रतिष्पर्धात्मक भावना र नयाँ काम गर्ने हुटहुटी लिन अनुरोध गरिन् । ५ वर्ष प्रदेश सभा सदस्य हुँदा खेलेको भूमिकाबारे अनुभव सुनाउँदै विधेयक निर्माण, सरकारका कामको अनुगमन, संसदीय निगरानीमा आफूलाई केन्द्रीत गर्न सुझाव दिए ।
प्रदेश सभा सचिव दूर्लभकुमार पुनले कार्यपत्र प्रस्तुत गर्दै प्रदेशसभाले महिला र सीमान्तकृत समुदायका सांसद्बाट अन्य सांसदहरुबाट भन्दा भिन्न भूमिका खोजेको बताए ।
सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले लुम्बिनीमा महिला र सीमान्तकृतको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै अवस्था सुधारका लागि काम गर्न आग्रह गरिन् ।
नागरिकका समस्या सरकारसम्म लैजान सांसदले भूमिका बढाउनुस् : सभामुख घर्ती
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले नागरिकका समस्या सरकारसम्म र सरकारका योजना नागरिकमाझ पुर्याउन प्रदेश सभा सदस्यहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् । सभाले सोमबार बुटवलमा आयोजना गरेको प्रदेशसभा सदस्य र पूर्व प्रदेशसभा सदस्यबीच अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।
सभामुख घर्तीले सरकारलाई जिम्मेवार बनाउन, सुशासनमा हिँडाउन र प्रदेशको विकासका लागि आवश्यक ऐन कानून बनाउन सांसद्हरुको भूमिका अझ बढ्नुपर्ने जनाए । सबै जाति, धर्म, लिंग र समुदायको पहुँचका लागि समानुपातिक कोटा आएको बताउँदै सभामुख घर्तीले प्रत्यक्षभन्दा समानुपातिक र समावेशी कोटाबाट आएका सांसदहरुले अझ बढी नागरिकका समस्या र सामाजिक रुपान्तरणका सवाललाई सरकारसम्म लैजान र त्यसअनुसार नीति कानून बनाउन भूमिका खेल्नुपर्ने उनको सुझाव थियो ।