एक समयकी ‘नम्बर वान नायिका’ रेखा थापा तीन वर्षपछि पर्दामा फर्किने प्रयासमा छिन् । आगामी बैशाखबाट छायांकन सुरु हुन लागेको फिल्मका लागि अहिले उनी कलाकार छनोटमा व्यस्त छिन् । उनकै निर्माण तथा मुख्य भूमिका रहने फिल्ममा सोमबार अभिनेत्री पूजा शर्मा अनुबन्ध भएकी छन् ।
निर्देशक ज्ञानेन्द्र देउजालाई साक्षी राख्दै रेखाले पूजासँग कागजी सम्झौता गरेकी हुन् । फिल्ममा काम गर्ने सम्झौता गरेपछि पूजाले फेसबुक र इन्स्टाग्राममा रेखा थापासँग एउटै पर्दामा देखिनु आफ्नो लागि सपना जस्तो रहेको बताएकी छन् । रेखा थापा जस्तै बन्ने सपना बोकेर आफू फिल्म क्षेत्रमा आएको उल्लेख गरेकी छिन् ।
उनले लेखेकी छन्, ‘आफ्नो बेस्ट नायिकासँग पर्दा शेयर गर्न पाउँदा हर्षित छु । रेखा दिदीको साथमा नयाँ फिल्ममा काम गर्दा धेरै कुरा सिक्नेछु भन्ने लागेको छ ।’ निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशन र व्यवहारबाट आफू सधैं प्रभावित रहेको पनि उनले उल्लेख गरेकी छन् । ‘प्रिय, ज्ञानेन्द्र दाइको निर्देशनमा रेखा दिदीसँग एउटै पर्दामा देखिनु मेरा लागि कहीँ कतै सपना नै हो कि जस्तो पनि लाग्दैछ ।
तर, फिल्म क्षेत्रमा आएर केही फिल्म गर्दै गर्दा दर्शकले मलाई अथाहा प्रेम दिनुभएको छ । तर, यो फिल्म मेरा लागि सधै विशेष हुनेछ,’ उनले लेखेकी छन् । नाम नजुरिसकेको फिल्ममा रेखा र पूजासँगै आँचल शर्माको पनि अभिनय रहनेछ । आँचलसँग रेखाको मौखिक सहमति भैसकेको छ । फिल्मका लागि पूजाले सोमबार कागजी संझौता गर्दै यस्तो बताएकी हुन् ।
रंगकर्मी सुलक्षण भारतीको लेखन रहेको फिल्म महिला प्रधान रहने निर्देशक देउजाले बताएका छन् । यस वर्ष उनी निर्देशित फिल्म ‘झिंगेदाउ’ घरेलू बक्सअफिसमा ब्लकबस्टर भएको थियो । पूजाले दर्शकका लागि यसपटक यो फिल्म विशेष हुने समेत बताएकी छिन् । रेखा, पूजा र आँचलले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।