काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले देशले क्रिकेट जितेको बताएका छन्। आज सामाजिक सञ्जालमा एक भाबुक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । उनले साथ र मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी व्यक्त गर्दै आफ्नो देशले क्रिकेट जितेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ।’आईसीसी विश्वकप क्रिकेट लिग–२ को स्कटल्याण्ड र नामिबियासँगको सिरिजमा नेपालले ४ वटै खेल जितेको थियो। जसमा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए।
उक्त सिरिजमा उनी सर्वाधिक विकेट लिने बलर बनेका थिए। नेपालले शृङ्खलाका चारवटै खेल जितेको यो पहिलो पटक हो। नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट रहँदै १०१ बलमा ९५ रन बनाए । यस्तै करण केसीले नटआउट ३१ रन बनाए । स्कटल्यान्डका मार्क वाटले ३ र क्रिस ग्रेभ्सले २ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्ड ४६ ओभर १ बलमा २ सय १२ रन बनाउँदा अलआउट भयो ।यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई ३ विकेटले र पहिलो खेलमा २ विकेटले हराएको थियो ।
साथै, नेपाल र स्कटल्यान्डको खेल चलिरहँदा त्रिवि खेल मैदानमा क्रिकेट समर्थकहरुले सन्दीप लामिछानेको पक्षमा नारावाजी गरेका थिए । सन्दीपलाई नेपालको यूएइ भ्रमणमा समावेश गर्न माग गर्दै उनिहरुले नाराबाजी गरेका हुन् ।
सन्दीपलाई अदालतले विदेश भ्रमणमा रोक लगाएकाले उनी यूएइ जान नपाउने भएपछि समर्थकहरुले सन्दीपलाई ‘दुबइ लग’ भन्दै नारावाजी गरेका थिए । सन्दीपका प्रत्येक विकेटमा समर्थकहरुले सेलिब्रेसन गरेका थिए । तर, सन्दीपको अनुपस्थितिमा नेपालको बलिङ कमजोर हुने भन्दै फ्यानहरुले उनलाई यूएइ लैजानुपर्ने माग गरेका छन् ।