नेपालमा धेरै रेमिट्यान्स भित्रिने जिल्लामध्ये बागलुङ अग्रपंतीमा पर्छ। यहाँको जनसंख्याको ठूलो हिस्सा संसारका कुना कुनामा पुगेका बागलुङेहरुले पठाएको विप्रेषणले बाँचेको छ। शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नेपाल सरकारले दिन सक्दैन। नागरिकतासँगै हरियो पासपोर्ट भने दिन्छ। त्यही हरियो पासपोर्ट बोकेर सुनौलो जीवनको परिकल्पना गर्दै परदेशको भूमिमा रगत पसिना बगाउने युवाहरुको भरमा परिवार धानिएका छन्। विदेशमा पुगेर कम कमाउनेले घर परिवारको पालन पोषणमै रकम खर्चन्छन्। अलि बढी कमाउने शहरी क्षेत्रमा घर ठड्याउने र परिवारलाई त्यहाँ सार्ने चलन छ।
बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीका ४० वर्षीय गमबहादुर कुँवर भने यो भीडमा भिन्न देखिएका छन्। परदेशको भूमिमा पाँच वर्ष बिताएर उनले नेपाली युवा हुनुको कर्तव्य पूरा गरे। परदेशबाट स्वदेश फर्केपछि भने उनी भिन्न रेखामा उभिए। सन् २०१२ मा दक्षिण कोरिया गएर २०१७ सम्म मजदुरको रुपमा काम गरेका कुँवरले अहिले आफैं मालिक भएर अरुलाई समेत रोजगारी दिएका छन्। कोरियामा हुँदा बोयर बाख्रा पालन गरेको देखेका उनले घर फर्केपछि २०७४ सालयता बाख्रा पाल्दै आएका छन्। सुरुमा एउटा बोयर माउ र बोकाबाट सुरु गरेका बाख्रापालन अहिले फस्टाउँदै गएको छ।
‘मैले कृषि पनि पढेको हो, हाम्रो घरमा पहिलेदेखि नै बाख्रा पालिन्थ्यो,’ उनी भन्छन्, ‘कोरियामा बस्दा मैले मेक्सिकोबाट ल्याएर बोयर बाख्रा पालेको देखेको थिएँ। बोयर बाख्रा लोकल भन्दा छिटो बढ्ने बढी तौल हुने रहेछ। यसबाट राम्रो आम्दानी हुने रहेछ भन्ने देखेपछि मैले पनि बाख्रा पाल्न सुरु गरेको हुँ।’ घरमा भएको सात वटा माउँमा बोयर क्रस गराएर बाख्रा पालन सुरु गरेको उनी बताउँछन्। ‘सुरुमा त कस्तो हुँदो रहेछ भनेर एक ढेड वर्ष हेरें, राम्रो हुँदै गएपछि हौसला मिल्यो’, कुँवर भन्छन्। पहिले एक्लै सुरु गरेका काममा अहिले उनका भाई विष्णु कँुवरको पनि लगानी छ।
गलकोट नगरपालिका र घरेलु कार्यालयमा साहारा बाख्रा पालन फर्म दर्ता गरेर सानो लगानीबाट सुरु गरेको उक्त व्यवसायमा अहिले चार करोड बढीको लगानी परिसकेको छ। ‘सुरुमा बोयरको एउटा बोका र एउटा पाठीलाई पाँच लाखमा किनेर ल्याएको थिएँ,’उनी भन्छन्,‘अहिले चार करोड बढीको लगानी भइसकेको छ।’ घरका सात वटा बाख्रामा क्रस गराएर बाख्रा पालन गरेको उनको खोरमा अहिले साना ठूला गरी ३५० भन्दा बढी बाख्रा बोका छन्। बाख्राका लागि आवश्यक घाँस खेती गरेका छन्। अरुको वन भाडामा लिएर पनि घाँस काट्ने गर्छन्।
‘हाम्रो आफ्नै पुख्र्यौली जग्गा थियो, त्यसमा ७०÷८० रोपनी जग्गा किन्यौं र अरुको जग्गा भाडामा लिएर घाँस काट्ने गरेका छौं। अरुको समेत गर्दा चार पाँच सय रोपनी जग्गा बाख्रा पालनका लागि उपयोग गरेका छौं,’ उनले भने। विदेशमा गएर कमाएर ल्याउने तर नेपालमा लगानी नगर्दा समस्या हुने रहेछ भन्ने उनले बुझे र स्वदेशमै लगानी गरे। ‘अर्काको ठाउँमा भनेको उमेर भईन्जेल काम गर्ने हो रहेछ, उमेरले साथ दिन छोडेपछि के गर्ने ? नेपालमा लगानी गरेर आफ्नै आम्दानीको स्रोत नभएर समस्या हुन्छ,’ कुँवरले भने।
कोरियामा बस्दा वार्षिक ३५÷४० लाख कमाएका उनले बाख्रापालनबाट त्यो भन्दा बढी कमाउन सक्ने भएका छन्। खर्च कटाएरै वार्षिक ५० लाख आम्दानी गर्ने अवस्था भइसकेको उनले बताए। ‘कोरियामा बस्दा वर्षमा ३५ लाख जति कमाउँथे, बाख्रा पाल्न थालेपछि दुई वर्ष त कमाई भएन, अहिले बाख्राको संख्या बढेको छ’, उनले भने, ‘अब त वर्षको ५० लाख त खर्च कटाएर आम्दानी नै गर्ने अवस्था भएको छ।’ कुँवरको बाख्रा फर्मममा २५ हजारदेखि दुई लाख रुपैयाँसम्म मूल्य पर्ने बाख्रा बोका छन्। क्रस बोका मासुका लागि बिक्री हुने गरेको छ। बोयर भने स्थानीय तहले बिउको रुपमा बाख्रा बोका किनेर लैजाने गरेको उनको अनुभव छ।
‘अहिले बोयर बाख्रा बोकाको माग धेरै छ, मासुका लाग भन्दा पनि बीउको लागि माग धेरै आउने गरेको छ’, उनले भने, ‘विशेषगरी स्थानीय तहले कृषलाई वितरण गर्नका लागि बोका पाठी किनेर लाने गरेका छन्।’ यो पुस महिनामा मात्रै कुँवरले १४ लाखको बोका मासुका लागि विक्री गरेका छन्। कोरिया कुँवरको कमाई राम्रै थियो। पाँच वर्ष पूरा गरेपछि कम्पनीले फेरि पनि उनलाई बोलाएको पनि थियो। तर कामदारको रुपमा कोरिया नजाने निधो गरेर उनी यही उद्यमी बने। अहिले ६ जनालाई रोजगारी समेत दिएका छन्। ‘कोरियामा मैले राम्रै कमाउँथे, पाँच वर्ष पूरा गरेर आएपछि फेरि पनि बोलाएको थियो,’ उनी भन्छन्, ‘उता गएर फेरि कामदार बन्नुभन्दा आफैं रोजगारदाता बन्छु भन्ने लाग्यो। अहिले ६ जनाले मेरो बाख्रा फार्ममा काम गर्नुहुन्छ।’
६ जना कामदारलाई मासिक १८ हजारदेखि २१ हजारसम्म तलब दिने गरेको उनले सुनाए। सुरुमा आफैं लगानी गरेका उनले अहिले नेपाल सरकारले उपलब्ध गराउने सहुलिय ऋण लिएका छन्। ‘नेपाल सरकारले कृषकलाई कम व्याजमा ऋण दिने रहेछ, त्यही एक करोड रुपैयाँ लिएको छु। बाँकी सबै आफ्नै लगानी हो’, कुँवरले भने। कृषकका नाममा सरकारले हरेक वर्ष लाखौं करोडौं रुपैयाँ अनुदान पनि बाँड्ने गरेको छ। उनले पशुु सेवा विज्ञ केन्द्र बागलुङबाट साढे दुई लाख रुपैयाँ मात्रै अनुदान दिएका छन्। सरकारले दिने अनुदान पनि उपयोगी नभएको उनको भनाई छ।
‘सरकारले थोरै रकम दिन्छ, त्यसले अलि ठूलो कृषिकर्म गर्नेलाई केही पनि हुँदैन,’ उनी भन्छन्। एसएलसीपछि तीन वर्षे कृषि विषय पढेका कुँवरले बाख्रामा देखिन सानातिना समस्या आफैं समाधान गर्छन्। आफूले नजानेका कुराहरु युट्युबमा हेरेर भए पनि सकेसम्म समस्याको आफैं समाधान गर्ने प्रयास गर्ने गरेको उनले बताए। ‘बाख्रामा कतिबेला कुन समस्या देखिन्छ भन्ने टुंगो हुँदैन’, उनी भन्छन्, ‘त्यसैले धेरै ज सो समस्या आफैं समाधान गर्ने प्रयास गर्छु। युट्युबहरुमा हेरेर भए पनि आफैं गर्छु। धेरै नै ठूलो समस्या देखिन थाले प्राविधिकको सल्लाह लिन्छु।’ स्नातक तहमा शिक्षाशास्त्र संकाय अन्तर्गत गणित विषय अध्ययन गरेका उनलाई गाउँका विद्यालयबाट शिक्षक बन्नका लागि अनुरोध आएका थिए।
उनले भने आफ्नै लगानीमा उद्यमी बन्ने योजना बनाए। उनको कान्छो भाई पढ्दै छन् भने दुई जना भाईहरु कोरियामै कार्यरत छन्। दीर्घकालिन विकासका लागि उद्यममा लगानी गर्नुको विकल्प नभएको उनी बताउँछन्। पछिल्लो दिनमा रेमिट्यान्सको प्रयोग सुख सुविधा उपभोगमा खर्च भइरहेको छ। विदेशमा कमाएको रकम स्वदेशमा उद्यमी बन्न लगानी गर्ने हो भने पक्कै पनि यही स्वरोजगार बन्न सकिने गमबहादुर बताउँछन्।