काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ।मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता कायम गरेका शाह महानगरपालिकाको मेयर पदमा विजयी हुने पक्का भएको हो।
मेयरमा बालेनले ५५ हजार ७७७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३ सय ७१ मत प्राप्त गरेकी छन्।
यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत प्राप्त गरेका छन्।१९ हजार भन्दा कम मत गन्न बाँकी रहँदा बालेन बलिया पार्टीका प्रतिस्पर्धीभन्दा २० हजार मतले अगाडि छन्।
यसैबीच उपमेयरमा भने एमालेकी उम्मेदवार सुनिता डंगोल अगाडि छिन्। उनले चुनाव जित्ने लगभग पक्का भइसकेको छ। डंगोलले प्रमुख ५३ हजार ६४२ मत ल्याएकी छिन् भने गठबन्धनको तर्फबाट उठेका दोस्रो स्थानका नेकपा एसका रामेश्वर श्रेष्ठले १७ हजार ७६५ पाएका छन्।
यतिबेला मेयरमा बालेन र उपमेयरमा डंगोल जित्ने पक्का भइसकेका बेला चुनाव अघिका केही किस्साहरु सतहमा आएका छन्।
यसअघि सुनिता डंगोलले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारको काम नभएको बताएकी थिइन्। उनले व्यंग्य गर्दै मेयरमा एमालेले नै जित्ने बताउँदै बालेन शाहलाई चाहीँ आफूहरुले गीत गाउन बोलाउने उल्लेख गरेकी थिइन्।
उनले भनेकी थिइन्,‘हामीले चुनाव जितेपछि कलाकारहरुलाई, अहिले त कस्तो कस्तो गीत गाउने र्यापरहरुलाई नाच्न र गाउन लगाउने हो। उहाँहरुको कला प्रस्फुटन गर्ने मञ्च बनाइदिन्छौं।’
तर यतिबेला उनै डंगोलले बालेनलाई मेयर भन्नुपर्ने अवस्था आएको छ। दुवैले सहकार्य गरेर काम गर्नुपर्ने भएको छ।
सुनिता डंगोलको व्यंग्यमा बालेनले पनि प्रतिक्रिया दिँदै भनेका थिए,‘मेयरले गीत गाएको र उपमेयरले ताली बजाएको सुहाउँछ, राम्रो देखिन्छ।’