महँगी निकै बढेको छ । इन्धन, खाद्यन्न, तेल लगायत अत्यावश्यक बस्तुमा समेत अत्याधिक महँगी बढेको छ । यस्तो बेला बजेट आउँन लागेको छ । यो बेला सरकारले शिक्षक, कर्मचारीको तलब बढाउँछ या के गर्छ ?
सबैको चासोको विषय बनेको छ । यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढेका कारण वर्तमान सरकारसँग कर्मचारीले अपेक्षा राखेका छन् ।
यही बजेटको समयमा प्रदेश सभा र संघीय प्रतिनिधि सभाको चुनाव हुँदैछ । चुनावमा कर्मचारी आफ्नो पक्षमा ल्याउनपनि तलब र सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने दवावमा सरकार छ । तर अर्थतन्त्र एकदम कमजोर बनेको छ ।
यही बेला सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९ ८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ ।
यति बेला अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । पछिल्लो समय महँगी निकै बढेको र यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढेका कारण मन्त्रालयले कर्मचारीको तलब बढाउन लागेको हो ।
मन्त्रालयका अनुसार दुई हजार रुपैयाँ नघट्ने गरी तलब बढाउने तयारी छ । निजामती कर्मचारी सम्बद्ध टे«ड युनियनले भने अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर पाँच हजार रुपैयाँसम्म तलब बढाउन आग्रह गरेका थिए ।
तलब बढाउने सम्बन्धमा टे«ड युनियनको सुझावलाई स्वीकार गर्दै अर्थमन्त्रीले खर्चले धान्ने गरी तलब बढाउने प्रतिक्रिया दिएको मन्त्रालयले जनाएको थियो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार सबै उपभोग्य वस्तुको महँगी उच्च दरमा वृद्धि भएकाले तलब बढाउनुपर्ने माग कर्मचारीको छ ।
भर्खर स्थानीय तहको निर्वाचन सम्पन्न गरेको सरकारले आगामी मङ्सिर वा त्यसपछि कुनै समयमा प्रदेश र सङ्घको निर्वाचन पनि हुने हुँदा तलब बढाउने सम्बन्धित क्षेत्रका जानकार बताउँछन् ।
यसैगरी बृद्धभत्तापनि बढाउने सरकारको तयारी छ । बृद्धभत्ता प्रमुख प्रतिपक्ष दल (एमाले) ले चुनावी नारा नै बनाएका कारण अब ६५ बर्षदेखि नै बृद्धभत्ता दिने र रकमपनि बढाउने सरकारको तयारी छ । nuwakotexpress.com बाट साभार