स्वतन्त्त उम्मेदवार बालेन शाहरुको लौरोहरुले प्रमुख दलका नेताहरुको टाउकोमा स्थानिय तहको चुनावमा हिर्काएपछि अनौठो र नसोचेको प्रतिक्रिया ती दलहरुले दिन थालेका छन् । यसैबीच, बालेन लगायत देशभरबाट स्वतन्त्रले जितेपछि यो स्थानिय तहको चुनावमा पहिलो बनेको दल नेपाली कांग्रेसले अनौठो प्रतिक्रिया दिएको छ ।
देशभरीबाट स्वतन्त्र उमेदवारहरुको पक्षमा देखिएको जनमतको बारेमा नेपाली काग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले अनौठो प्रतिक्रिया दिएका छन् । काग्रेस प्रवक्ता महतले काठमाडौँमा बालेन शाह, धरानमा हर्क साम्पाङ धनगढीमा गोपाल हमाल जस्ता स्वतन्त्र उमेदवारहरुले ल्याएको मत पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण आएको बताएका छन् ।
ओलीकै कारण दलहरु प्रति जनताको नकारात्मक धारण बनेको र त्यसको असर निर्वाचनमा देखिएको भन्दै महतले काग्रेस त घानमा मात्रै परेको बताएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री बने पछि देशमा बेथिती हटेको र भ्रष्टाचार हटेको दाबी पनि उनले गरेका छन् ।
केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले धरानमा कांग्रेसले राम्रो उम्मेदवार उठाउँदा उठाउँदै पनि मतदाताले के के न हुन्छ भनेर स्वतन्त्रलाई जिताएको बताए । उनले मुलभूतरूपमा काठमाडौं, धरानलगायतका ठाउँमा आएको स्वतन्त्रको लहर कांग्रेसविरुद्ध नभएर ओलीविरुद्धको अभिव्यक्ति रहेको दाबी गरे ।
उनले भने, ‘यो केपी ओली र एमालेविरुद्धको अभिव्यक्ति हो । त्यसको घानमा नेपाली कांग्रेस पनि परेको छ । ओलीले पूरा कार्यकाल काम गर्न सकेनन्, देशमा स्थायित्व हुन सकेन । जनताले त्यसविरुद्ध अभिव्यक्ति दिएका हुन्, हामी पनि त्यसको घानमा परेका हौं ।’
डा महतले स्वतन्त्र उम्मेदवारले जित्दैमा वा उनीहरूले मत ल्याउँदैमा कांग्रेस असफल भयो र दलहरू असफल भए भन्न नमिल्ने समेत बताए । महतले आएको परिणाम सन्तोषजनक रहेको बताए ।
‘समग्रमा यो निर्वाचनको परिणाम हामीले सन्तोषजनक रूपमा लिएका छौँ,’ उनले भने,‘नेपाली कांग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छ । र तालमेल सहित हामीले निर्वाचनको परिणामलाई हेर्ने हो भने, सहयोगी दलले पनि उल्लेख्य सफलता हासिल गरेको हामीले महसुस गरेका छौँ ।’
निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित सम्पन्न भएको पनि कांग्रेसले जनाएको छ ।जहिले जहिले कांग्रेसले निर्वाचन गर्छ हामीले निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष र भयरहीत निर्वाचनका लागि सहयोग गरेका छौ,’ प्रवक्ता महतले दाबी गरे, ‘चाहे २०१५ सालमा होस, २०४८ सालको होस, ०५१, ०५६, ०६४, ०७४ होस वा अहिलेको हामीले निष्पक्ष चुनाव गराएका छौ ।’ praharnewsबाट साभार गरिएको हो