बुटवल -२०७४ सालको स्थानीय चुनावमा बुटवल उपमहानगरको एमालेका उम्मेदवार शिवराज सुवेदीको चुनावी घोषणापत्रका अधिकांश एजेण्डाहरु फेल भएका छन । बुटवललाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउन सशक्त र प्रभावकारी पहल गर्ने । राजधानीको निर्णय गर्ने अधिकार र कार्यक्षेत्र प्रदेश सभाको भएपनि सुवेदीले मतदातालाई प्रभावित पार्न आफ्नो अधिकार क्षेत्र बाहिरको नारा अघि सारेका थिए ।प्रदेशको राजधानी दाङ बनाउन पार्टी नेतृत्वले गरेको निर्णयमा मेयर सुवेदी चुंइक्क बोलेनन् बरु राजधानी दाङ बनाउन अगुवाई गरेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा मौन समर्थन जनाए । अन्य ६ वटा प्रदेशको स्थायी राजधानी पुर्ववर्ती सरकारले तोकेका अस्थायी मुकाममै कायम हुदा लुम्बिनी प्रदेशको मात्रै बुटवलबाट दाङ निर्णय हुंदा मेयर सुवेदी मतदाता सामु गरेको वाचा र देखाएको सपनामा चुकेको बुटवलवासीको बुझाई छ ।
सुवेदीले चुनावी घोषणापत्रमा देखाएको अर्को सपना थियो – बुटवललाई धुंवा,धुलो र हिलोमुक्त स्मार्ट सिटी तथा बुटवलकै सेमलार र मोतिपुरलाई स्याटेलाइट सिटी बनाउने । यी दुबै सपना नारामै सीमित भएका छन्, कार्यान्वयनमा मेयर सुवेदी असफल भएका छन् ।एशियाली विकास बैंकसंग सम्झौता भई अघि बढेका ७१ करोड लागतका खानेपानी, फोहोर मैला व्यवस्थापन र अटो भिलेज परियोजना सुवेदी निर्वाचित भएर आएपछि फिर्ता भए । यी तीनवटै परियोजनालाई कार्यान्वयनमा ल्याउन मेयर सुवेदीले सरोकारवाला निकायसंग समन्वय गरी सुझबुझपूर्ण र उचित निर्णय लिन चुकेका छन । तीन ठूला परियोजना गुम्दा बुटवलको विकास १० वर्ष पछाडि धकेलिएको बुटवलका स्थानियहरु बताउँछन ।
चुनावी घोषणापत्रको प्राथमिकतामा मेयर सुवेदीले २ वर्षभित्र झुम्सा खानेपानी आयोजना र एक वर्षभित्र फोहोरमैला प्रशोधन केन्द्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएका थिए । तर पांच वर्ष बितिसक्दासम्म यी दुबै आयोजनाको काम नै शुरु हुन सकेको छैन । फोहोर व्यवस्थापन केन्द्र बन्न नसक्दा बुटवलमा दैनिक उत्पादन हुने करिब ६० टन फोहोर तिनाउ नदी किनारमा फ्यांक्ने गरिएको छ जसले शहरको वातावरण प्रदुषित बनेको छ । मेयर सुवेदीले चुनावमा गरेको अर्को वाचा हो–बुटवललाई महानगर बनाउन विकास परिषद गठन गरी प्रकृया अघि बढाउने । तर यो पनि चुनावी नारामै सीमित भयाे ।
पाँच वर्षभित्र तिनाउ–दानव कोरिडोर सडक बनाउने चुनावी घोषणापत्रमा उल्लेख गरेका थिए । तर यो कोरिडोर सडक करिब १५ प्रतिशत निर्माण हुँदा अहिले विवादमा तानिएको छ । कोरिडोर प्रभावित बासिन्दाले उचित ठाउंमा स्थानान्तरण र क्षतिपुर्तिको माग गर्दै आन्दोलित भएका छन् । केही जग्गाधनीले अदालतमा मुद्दा समेत दायर गरेका छन् । आयोजनाका सम्बन्धमा मेयर सुवेदीले सडक डिभिजन कार्यालयलाई कोरिडोर क्षेत्रमा जग्गासम्बन्धी विवाद छैन भनेर झुठो विवरण दिएर आयोजना अघि बढाएको भन्दै स्थानीयहरु रुष्ट छन् ।
मेयर सुवेदीले राजधानी जस्तै प्रदेश र संघको अधिकार क्षेत्रमा पर्ने कालिगण्डकी तिनाउ डाइभर्सनको एजेण्डालाई पनि आफ्नो चुनावी घोषणापत्रको प्राथमिकतामा पारेर ५ वर्षभित्र पूरा गर्ने वाचा गरेका थिए । ५ वर्षसम्म कामै शुरु हुन नसकेको यो विषयमा अहिले अदालतमा मुद्दा परेको छ भने गण्डकी प्रदेश सरकारले कुनै हालतमा डाइभर्सन हुन नदिने अडान लिएको छ ।
काम भन्दा मुक्काले चर्चामा आएका बुटवलका मेयर सुवेदीलाई गएको वर्षायाममा बुटवल ज्योतिनगरमा पहिरो जाँदा घरमा क्षति पुगेका परिवारको व्यवस्थापनमा बेवास्ता गरेको भन्दै आफ्नै पार्टीका कार्यकर्ताले सार्वजनिक स्थानमा मेयरलाई मुक्का प्रहार गरका थिए ।‘राम्रा काम गरेको भए आफ्नै कार्यकर्ताले मुक्का हान्ने थिएनन्’–एमालेकै एक कार्यकर्ता भन्छन्–‘वर्षायाममा बुटवलवासी पहिरोको त्रासमा बाँच्न र तिनाउको धमिलो पानी पिउन बाध्य भएकाे बुटवलका स्थानिय बताउँछन ।
बुटवल उपमहानगरपालिकाका मेयर सुवेदी आफ्ना चुनावी प्रतिवद्धताहरु पूरा गर्न पूर्णरुपमा चुकेका छन ।‘ बुटवललाई स्थायी राजधानी, महानगर, सुकुम्बासीलाई लालपुर्जा ,कालिगण्डकी डाइभर्सन,तिनाउ दानव कोरिडोर सडक लगायतका महात्वाकांक्षी सपना देखाएर भोट मागियो तर जितेपछि यी कुनै कुरा पूरा भएनन् बुटवल उपमहानगरलाई सबैको साझा बनाउनुको साटो एमालेको पार्टी कार्यालय जस्तो एकलौटी बनाइएकाे स्थानीय बताउँछन ।योजना तर्जुमा वजेट र विकास निर्माणमा मेयर सुवेदीले फरक दल र फरक विचारलाई पूर्णतः उपेक्षा गरेर एकलौटी ढंगले अघि बढेको स्थानियकाे आराेप छ ।
मेयर सुवेदीका पूरा नभएका प्रतिवद्धता के-के ?
चक्रपथ निर्माण, एक वर्षभित्र अटो भिलेज निर्माण, ४ स्थानमा विद्युतीय शव दाह गृह निर्माण, बन्द रहेको बुटवल धागो कारखाना सञ्चालन, दुई वर्षभित्र मोतिपुर औद्योगिक क्षेत्र सञ्चालन, माध्यमिक तहको शिक्षा निशुल्क, नाम चलेका सामुदायिक विद्यालयहरुले विभिन्न शिर्षकमा चन्दाका नाममा झण्डै निजी सरह शुल्क असुलेका छन् ,बृद्धबृद्धाको स्याहार सुसार गर्न हस्पिक केयर सेन्टर,जेष्ठ नागरिकलाई उपचार गर्ने जेरियाटिक हस्पिटल, निःशुल्क नगर एम्बुलेन्स, ७० वर्ष नाघेकालाई सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार बनाउने, ।
एक टोल एक सार्वजनिक शौचालय तथा महत्वपूर्ण स्थानमा सार्वजनिक शौचालयहरुको ब्यवस्था, नगर क्षेत्रका सडकहरु आधुनिक उपकरणहरुको प्रयोगद्धारा दैनिकरुपमा सफाई, सिद्धबाबा , तिनाउ पुल र मगरघाट क्षेत्रमा बाँध बाँधी जल पर्यटनको विकास,बुटवल बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार समयानुकुल बनाई सामाजिक र विज्ञान विषयको अनुसन्धान केन्द्रको रुपमा विकास गरिने,दुर्घटनाका कारण घाइते हुनेहरुका लागि सिघ्र उपचारको ब्यवस्था गर्न ट्रमा सेन्टरको स्थापना,उपमहानगर क्षेत्रभित्रका महत्वपूर्ण सार्वजनिक स्थानहरुमा फ्री वाइफाइ जोन तथा विभिन्न स्थानमा आधुनिक सुचना केन्द्रको स्थापना, विद्युत तथा टेलिफोनका तारहरुको प्रसारण तथा विस्तार गर्दा भूमिगत प्रणाली अवलम्वन गरिने,हिंसा पीडित महिलाका लागि सेफ हाउस, गरीब परिचय पत्र र विशेष सुविधा । यस्तै बुटवल–भैरहवा–लुम्बिनी–तिलौराकोट पर्यटक बस सञ्चालन, ट्रलि बस र मोनो रेल चलाउन पहल, हरेक वनमा अलग–अलग सफारी पार्क, कालोपत्रे सडक किनारमा बृक्षारोपण लगायतका वाचा पनि पूरा भएका छैनन ।
बुटवल गोलपार्क निवासी वहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसी मेयर सुवेदीको ५ वर्षे कार्यकाल आन्याेलमै बताए ‘एमालेका जिल्ला अध्यक्ष समेत रहेका सुवेदीले मतदाता समक्ष १७ वटा शीर्षक र १२१ वटा बुंदामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेका थिए’–चुनावी घोषणापत्र सम्झिंदै स्थानियहरु भन्छन्–‘अधिकांश महत्वपूर्ण प्रतिवद्धता जस्ताको तस्तै छन्, कामै भएको छैन, साना तिना नियमित विकास त जनप्रतिनिधि नहुँदा कर्मचारीले पनि गरेकै थिए ।’ घोषणापत्रमा स्मार्ट र स्याटेलाइट सिटीको सपना बाडेर नगरलाई धुलोधुवा, फाहोर र खाल्डैखाल्डाको पहिचान दिलाएको बुटवलबासीकाे टिप्पणी छ ।
मेयर सुवेदीको कार्यकालमा नगरपालिकालाई एमाले कार्यकर्ता भर्ती केन्द्र र नीतिगत भ्रष्टाचार गर्ने अखडा बनाएर वर्षेनी वैठक भत्तामा ३५ लाख बढी रकम बाडेको, चुनावलाई प्रभावित पार्न पत्रकारलाई बाड्न चालु आर्थिक वर्षमा २५ लाख रुपैया छुट्टाइएको र विना मापदण्ड एकैपटक डेढदर्जन पत्रकारलाई सम्मानका नाममा पैसा बाडेर सुशासनको धज्जी उडाएको स्पष्ट देख्न सकिन्छ ।
तर बुटवलका मेयर सुवेदी भने चुनावी घोषणापत्रमा वाचा गरे भन्दा धेरै काम सम्पन्न भएको दावी गर्छन् । वडा भवन निर्माण, प्रमुख प्रशासकीय भवन निर्माण, नगर शिक्षा योजना, सहरी विकास गुरुयोजना निर्माण,सहयोगापेक्षी सडक मानवमुक्त र लैंगिक हिंसामुक्त सहर घोषणा,जितगढी सम्पदाको संरक्षण र विस्तार, ढुवानीग्राम निर्माण, वधशाला निर्माण,सिमसार क्षेत्र संरक्षण,बसपार्कमा बहुउद्देश्यीय सपिङ कम्प्लेक्स निर्माण, आन्तरिक वाइपास सडक निर्माण आफ्नो कार्यकालका महत्वपूर्ण उपलब्धी रहेका सुवेदी बताउछन् ।