नेपालमा रहेका विभिन्न सांस्कृतिक पर्वहरू मध्ये वसन्त पञ्चमी पनि नेपालीहरूको महत्त्वपूर्ण पर्व हो । माघ शुक्ल पञ्चमीमा हिन्दुहरूले मनाउने पर्वलाई वसन्त पञ्चमी,श्री पञ्चमी र सरस्वती पूजा पनि भन्ने गरेको पाईन्छ । विशेष गरेर विद्यालयमा वा घरमै पनि विद्यार्थीले विद्या, बुद्धि, ज्ञान र वाणीकी अधिष्ठात्री देबी सरस्वती पूजा उत्साह र उमंग पुर्वक धुमधामसँग मनाउने गर्छन् । विद्यार्थीहरूले बिहानै स्नान गरि स्वच्छ र पबित्र भई विभिन्न संस्कृत श्वोकहरूको बाचन गर्दै सरस्वतीको तस्बिर, मुर्ति या पुस्तकमा वग्देवीको प्रतीक मानेर पूजा गर्ने चलन छ। सरस्वतीको पूजा गर्दा जौ,तिल र सेताफूलहरू उपयुक्त मानिन्छ । यो चाड नेपालमा मात्रै नभएर भारत, बर्मा, बङ्गलादेश जस्ता हिन्दू बाहुल्य रहेको ठाउँमा पनि मनाउने गरिन्छ ।
केही वर्षयता अन्य धर्म मान्ने समुदाय जस्तै बुद्धिष्ट, जैनजस्ता धर्म सम्प्रदायले मनाउने गरेको देखिन्छ । यस चाडलाई हिन्दु र बौद्ध धर्मावलम्बीको संयुक्त चाड भन्ने गरिन्छ । बौद्ध धर्मावलम्बीले सरस्वतीलाई ज्ञानको प्रतीक मानेर बोधिसत्व मञ्जुश्रीका रूपमा पूजाआजा गर्छन् । नेपाल चीनलगायतका देशमा सरस्वतीलाई मञ्जुश्रीको नामले पूजा गर्ने गर्दछन् ।
मानिसको हातको अघिल्लो भागमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास भएको मानिन्छ । यस कर्मवादी हातलाई ब्रह्माको सिर्जनशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्पराअनुसार प्रत्येक दिन प्रभातकालीन समयमा
“कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वती ।
करमूले स्थितो ब्रह्मा प्रभाते कर दर्शनम् ।।”
भन्दै सरस्वतीसहित लक्ष्मी र ब्रह्माजीलाई स्मरण गरिन्छ । राजहाँसमा सवार भएकी सरस्वतीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन् । सेतो वस्त्रले सजिएर सधैँ मुस्कुराइरहने सरस्वतीले सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्ने विश्वास गरिन्छ ।
वर्षभरिमा पञ्चमी धेरै आउँछन् । तर, चार पञ्चमीको महत्त्व विषेश रहेको छ । नाग पञ्चमी,ऋषि पञ्चमी, विवाह पञ्चमी, वसन्त पञ्चमी वा श्री पञ्चमी । जसमध्ये श्रीपञ्चमीको महत्त्व अझ धेरै रहेको छ । संसारमा सबैभन्दा ठूलो धन विद्याकी खानी भगवती सरस्वतीको विशेष पर्व पूजा गर्ने दिन भएको हुनाले यस दिनको महत्त्व धेरै छ । अन्य पञ्चमीमा श्री जोडिँदैन तर वसन्त पञ्चमीमा भने श्री जोडिनु सरस्तीलाई सम्मान गरेर पद दिइएको हो । श्रीशब्दले ऐश्वर्य, मान, सम्मान, मङ्गल, आदि भाव बुझाउँछ ।