विश्व राजनीतिमा अहिले रुस र युक्रेनबिचको सम्भावित युद्धको चर्चा व्यापक भइरहेको छ । रुसको कुरा सुन्दा सबै ठीकै छ जस्तो लाग्छ। पश्चिमी सञ्चारमाध्यम र अमेरिकी राष्ट्रपतिको कुरा सुन्दा आज नै रुसले युक्रेनमा हमला गर्छ जस्तो लाग्छ ।
रुस , युक्रेन , पश्चिमा देश र अमेरिकाबिच युद्धको समयमा देखापर्ने सबै कुराहरू देखिइएका छन् तर युद्ध चाहिँ देखिएको छैन ।
सोभियत संघको पतनपछि आर्को शक्ति राष्ट्र बन्ने महत्वाकांक्षा बोकेर अगाडि बढिरहेको राष्ट्र चीन चाहिँ पर्ख र हेरको स्थितिमा मौन भएर बसिरहेको छ। यता भारत चाहिँ अमेरिका र पश्चिमालाई चिढ्याउन चाहँदैन र आफ्नो सैन्य हतियारको साझेदार रुसलाई पनि रुष्ट पार्न चाहँदैन । NATO सदस्य देश भएर पनि टर्की र जर्मनी चाहिँ तत्काल रुससँग भिड्ने पक्षमा छैनन् । अमेरिकाले पठाएको हतियारका निम्ति पनि जर्मनले आफ्नो मार्ग उपलब्ध गराएन ।
विश्वराजनीतिमा यो घटनाले अहिले चर्चा पाउनुका केही कारणहरू :-
NATO मा युक्रेनको प्रवेश
नेपालमा भारतको विरोध गर्नु नै राष्ट्रवाद भएझैं युक्रेनमा पनि रुसको विरोध गर्नु नै राष्ट्रवाद हो भनेर परिभाषित गरिन्छ ।
रुसलाई चिढ्याउन र राजनैतिक अभीष्टका निम्ति युक्रेनका राजनीतिज्ञहरू आफ्नो राष्ट्रलाई NATO मा सदस्यता प्रदान गराउन चाहन्छ्न् । अमेरिका पनि यहीँ नै चाहन्छ । NATO मा सदस्य हुन चाहने राष्ट्रमा भष्ट्राचारको स्थिति शून्य हुनपर्छ र अन्य देशसँग सीमाविवाद हुनुहुँदैन ।
रुसले सन् २०१४ मा क्राइमिया आफूमा गाभेपछि निरन्तर रुस र युक्रेनबिच सीमाविवाद चलिरहेको छ । तसर्थ NATO सदस्यीय जर्मनलगायत केही राष्ट्रहरू युक्रेनलाई NATO मा तत्काल प्रवेश गराउने पक्षमा छैनन् ।
यता रुस पनि उत्तर अटलांटिक सन्धि संगठनमा युक्रेनलाई प्रवेश हुनबाट रोक्न चाहन्छ । NATO मा प्रवेश नगरोस् भनेर नै रुसले साम-दाम-दण्ड-भेदको नीति अन्तर्गत सीमामा शस्त्रास्त्र तैनाथ गरेको स्पष्ट रुपले बुझ्न सकिन्छ ।
सोभियत संघको पतन र विश्वमा कम्युनिस्टको विजोग अवस्था देख्दा NATO को सान्दर्भिकताका बारेमा प्रश्नचिन्ह चाहिँ बेला-बेलामा उठ्ने गरेका छन् , यो छुट्टै चर्चाको विषय हुनसक्छ ।
सेनेटको चुनाव र वायडनको छवि
अफ्गानस्तानमा अमेरिकाको लज्जास्पद वहिर्गमनको कारण अमेरिकी राष्ट्रपतिको छवि अत्यन्त खराब स्थितिमा पुगेको छ ।
अफ्गानस्तानमा हारको क्षतिपूर्ति र आफ्नो छवि सुधार्ने अवसरको खोजी वायडन विगत केही महिनादेखि गरिरहेका थिए ।
केही महिनामा अमेरिकामा ३४ सेनेट सिटको निम्ति चुनाव हुँदैछ ।
विभिन्न सर्वेक्षणहरूका अनुसार डेमोक्रेटिकलाई रिपब्लिकनले सहजै हराउने अनुमान रहेको छ । आफ्नो लोकप्रियता घटिरहेको अवस्थामा पार्टीलाई हारबाट जोगाउन र आफ्नो छवि सुधार्न अमेरिकी राष्ट्रपतिले निकालेको नयाँ काण्ड पनि हुनसक्छ । नत्र सीमामा सेना र हतियार तैनाथ रुसले अहिले मात्र गरेको चाहिँ होइन ।
पुतिनलाई सम्मान
रुस र रुसी राष्ट्रपतिको चाहना चाहिँ पश्चिमा देश र अमेरिकाले आफूलाई सम्मान गरिदियोस् भन्ने रहेको छ । आफ्नो देशको आन्तरिक मामिलामा पश्चिमा देशले हस्तक्षेप नगरिदिउन् भन्ने चाहना रुसको हो । सार्वभौमिकता ,राष्ट्रियता र आन्तरिक राजनीतिमा अन्य देशले हस्तक्षेप नगरुन् भन्ने रुसले चाहन्छ ।
पुतिनलाई सत्ताच्युत गराउन अमेरिकाले गरेको प्रपञ्च र पुतिन बिरोधीलाई गरेको समर्थन सर्वविदित नै छ । यसैको प्रतिक्रिया स्वरूप बेला-बेला युक्रेनको टाउकोमा गोली ताकेर NATO सदस्यीय राष्ट्रहरूलाई पुतिनले चिढ्याउने गर्दछ्न् ।
इतिहास दोहोरिने डर
सन् २०१४ मा क्राइमियालाई रुसले आफूमा गाभेको विषय अत्यन्त चर्चित घटना हो । यस्तै सामरिक र व्यापारिक दृष्टिले अत्यन्त महत्वपूर्ण केही स्थानहरू हतियार र सेनाको बलमा रुसले आफूमा गाभ्ने हो कि भन्ने डरले युक्रेनलाई सताइरहेको छ । यहीँ डरको कारण रुसले तत्काल आक्रमण गर्दैन भन्ने जान्दाजान्दै पनि युक्रेन आत्तिरहेको छ ।
रुसले आफ्नो ग्याँस , तेल र अन्य उत्पादनलाई पश्चिम युरोपमा पुर्याउन युक्रेनको मार्ग प्रयोग गर्छ । तसर्थ युक्रेन पनि रुसको निम्ति अत्यन्त रणनीतिक र आर्थिक दृष्टिकोणले महत्वोपूर्ण देश हो । यसकारण युक्रेनलाई NATO मा सदस्य भएको र अमेरिकाको इसारामा चलेको रसियाले देख्न सक्दैन ।
समग्रमा तत्काल युद्ध हुने स्थिति पनि देखिइएको छैन । २०१४ को घटनालाई सम्झने हो भने रुसमा विश्वास गर्ने अवस्था पनि छैन ।