बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा फ्रण्टलाईनमा खटिएर काम गर्ने पत्रकारलाई आईसीयु (इन्टेन्सिभ केयर युनिट) र एचडियु (हाई डिपेन्डेन्सी युनिट) सेवा निःशुल्क हुने भएको छ । पत्रकारलाई कोरोना संक्रमण भएमा उनीहरुको उपचारलाई सहज बनाउनको लागि नेपाल पत्रकार महासंघ रुपन्देहीको पहलमा पत्रकारलाई आईसीयु र एचडियु सेवा निःशुल्क गरिएको हो । कोरोना संक्रमित पत्रकारहरुका लागि सहज रुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवल बिच सहमति गरिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको तर्फबाट अध्यक्ष रामराज पोख्रेल र अस्पतालको तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा ईन्द्र ढकालले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार नेपाल पत्रकार महासंघको सिफारिस र प्राथमिकताको आधारमा पत्रकारलाई एउटा एचडियु वेड तथा एउटा आईसीयु वेड निःशुल्क उपलब्ध गराउने र ज्वरो क्लिनिकमा निःशुल्क परामर्श सेवा तथा पिसिआर परीक्षणलाई निःशुल्क गर्ने उल्लेख गरिएको छ ।
सहमति पत्रमा हस्ताक्षर पछि बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले नागरिकलाई सुसुचित गराउने सन्दर्भमा फ्रन्टलाइनमा खटिई कार्य गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुलाई तेश्रो लहरको बेला सहज र प्राथमिकताका साथ उपचार प्रबन्ध मिलाईदिन महासंघको आग्रह अनुसार सेवा व्यवस्थापन गरिएको बताए । उनले आफ्नो कार्यकालमा पत्रकारहरुको लागि अन्य समयमा पनि कार्यान्वयन हुने खालको योजना बनाएर सम्झौता गर्ने आश्वास समेत दिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकारहरुले अस्पतालबाट आगामी दिनमा पनि थप सुविधा पाउने आशा व्यक्त गरे । अध्यक्ष पोख्रेलले महासंघले सधै पत्रकारको हकहितमा काम गर्ने बताउँदै यसले पत्रकारलाई ढुक्क भएर काम गर्ने वातावरण सिर्जना गरिएको बताए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेल सहित उपाध्यक्षद्वय विश्वास ढकाल, अमृता अनमोल, कोषाध्यक्ष सञ्जय सौगात, कार्यसमिती सदस्य प्रदीप आचार्य लगायतको सहभागिता रहेको थियो ।